अर्थ

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्।

शुक्रबार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन्। उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८  हजार भन्दामाथि पुगेको बताए। उनले चालू आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए। उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताए। 

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताए। उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए। महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए।

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए। उनले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरुको समय र लागत कम भएको दाबी गरे। महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताए। उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताए।  

महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए। उनले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताउनु भयो। पौडेलले दोस्रोमा कतार,तेस्रोमा युएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताए। उनले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको सख्या बढ्न थालेको बताए। पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताए। उनले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताए।

त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फस्र्यौट ७० प्रतिशत भएको जानकारी दिए। उनले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गरे। उनले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको बताए।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको बताए। उनले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गरे। महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताए।

प्रकाशित: ३१ असार २०७९ १३:०७ शुक्रबार