अर्थ

अनुगमन र छलफलपछि चिनी मिल संचालनको आशा पलाउँदै

दुई वर्षदेखि बन्द रहेको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स संचालनको आशा किसानहरुमा फेरि पलाउन थालेको छ। 

संघीय संसदको श्रम हित उपभोक्ता तथा उद्योग समितिको स्थलगत निरीक्षण अनुगमन तथा सरोकारबालासितको छलफलपछि स्थानीय किसानमा चिनी मिल संचालनको आशा पुनः पलाएको हो।

जिल्लाको सबैभन्दा ठूलो उद्योग र सबैभन्दा धेरैले रोजगारी पाएको चिनी मिल बन्द हुँदा किसान, व्यापारी तथा मजदुर र कर्मचारीलाई ठूलो घाटा भएको छ। उद्योग संचालनको लागि विभिन्न सरोकारबाला पक्षको माग रहेको भए पनि उद्योग बन्द हुँदा संचालनप्रति सकारात्मक चासो देखिएको हो।  

समितिका सभापति तथा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा सरिताकुमारी गिरी, उमाशंकर अरगरिया र समितिका सचिव लगायतका पदाधिकारीले दुई वर्षदेखि बन्द रहेको चिनी मिलको निरीक्षण गरी मिल संचालनको लागि छलफल गरेको हो।  

छलफलमा उद्योगका कर्मचारी युनियन, मजदुर संघका पदाधिकारी तथा उखु उत्पादक संघ रौतहटका पदाधिकारीहरुका साथै केही सर्वसाधारण उखु किसानको पनि सहभागिता रहेको थियो।  

उद्योग संचालनका बाधा व्यवधान र समस्या समाधानको विषयमा छलफल भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी गराएका छन्।  

संसदीय समितिका सभापति यादवले सरोकारबालासित गरिएको छलफलले आफू उत्साहित भएको बताउँदै सबैको चाहना उद्योग संचालन होओस् भन्ने रहेको बताउँदै उद्योगपति हितेश गोल्छा र विशाल अग्रवालसित पनि छलफल गर्ने बताएका छन्।  

सरोकारबालासित संसदीय समितिले छलफल गरेपछि किसानहरुमा आउँदो सिजनदेखि उद्योग संचालन हुने आशा पलाएको उखु किसान कामेश्वर सहनीले बताएका छन्। 

प्रकाशित: २७ असार २०७९ १६:०५ सोमबार