नेपाल स्टक ब्रोकर्स संघले नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संशोधन प्रस्ताव तयार गर्दा आफूलाई संलग्न नगराएको भन्दै आपत्ति जनाएको छ।
संघले व्यवसायिको प्रतिकुल हुने गरी बोर्डले संशोधन प्रस्ताव तयार गरेको आरोप पनि लगाएको छ। संघले सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई ज्ञापनपत्र बुझाउदै आपत्ति जनाएको हो। बोर्डले नियमावली संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेपछि ब्रोकर्स संघले आपत्ति जनाएको हो।
‘उक्त नियमावली हामी धितोपत्र दलाल व्यवसायिहरु सँग प्रत्यक्ष सम्बन्धित नियमावली रहेको तर बिगतमा यस्ता सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व हामी व्यवसायिहरुसँग पनि राय सुझाव लिइने परम्परालाई बेवास्ता गरियो। नियमावलीमा संसोधन गर्न मस्यौदा गर्नुपूर्व हामीसँग कुनै पनि राय सुझाव नलिइ अस्वभाविक हतारोमा रातारात ल्याइयो। यसले एकातिर हामीले हाम्रो अभिभावकको रुपमा रहेको नियामक कतै हराएको होकि भन्ने आभास गरेका छौ’, ब्रोकर्स संघले ज्ञापनपत्रमा भनेको छ। संघले उक्त संसोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा व्यवसायिहरुको हितमा नभएको स्पष्ट पारेको छ।
‘हाल संचालनमा रहेका व्यवसायिहरुबाट भौगोलिक रुपमा बजारको तथा सेवाको बिस्तार हुन नसकेको भन्ने तथ्यहिन आरोप तथा नियमित चक्रमा चल्ने बजारमा आएको गिरावटबाट बजारलाई उकास्ने बहानाका आधारमा उक्त मस्यौदामा प्रस्ताव गरिएको धितोपत्र दलाल व्यवसायीको संख्या वृद्धिको प्रावधानले दसकाैंदेखि कायम हाम्रो निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको पनि हामीले महसुस गरेकाछौं। यसबाट हामी व्यवसायि अत्यन्तै चिन्तित र दुखि भएका छौं’, ज्ञापनपत्रमा उल्लेख छ।
संघले तीन दशकदेखि यस बजारको सारथीका रुपमा रहेका व्यवसायिले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालिको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पूर्णरुपमा सहयोग गर्दै आएको बताएको छ।
संघले भनेको छ, ‘भौतिक प्रमाणपत्र कारोबार हुँदाका विभिन्न झमेला र कामको बोझ सहि रातभरि कार्यालमै बसि राफसाफ कार्यलाई नियमित गरेकै थियौं। अभौतिक धितोपत्रको मात्र कारोबार हुने ब्यवस्था लागु गर्न लाखौंको संख्यामा रहेका प्रमाणपत्रहरुको बिना कुनै शुल्क अभौतिकीकरण गरेकै हौं। राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केट जस्ता बजारका आधारभुत पूर्वाधारहरुको स्थापनामा नियामक र बजार संचालकनै अग्रसर नदेखिएको अवस्थामा पनि आफ्नो जायजेथाबाट क्षति ब्यहोरेरै भए पनि बिगत तिन दशकमा कुनै पनि लगानीकर्ताले खरिद गरेको एक कित्ता शेयर र बिक्री गरेको एक रुपैयाँ नगद गुमाउनु पर्ने अवस्थाको सृजना हुन नदिइ बजारको बिश्वसनियता कायम गरेकै हौं।’
संघले बजारका यति बिघ्न बाधा ब्यवधानहरु सहेर बजारलाई आजको यो अवस्थामा ल्याएका व्यवसायिलाई काम गर्न केहि सहज परिस्थितिको सृजना हुने बित्तिकै कुनै अवसरनै नदिइ कुनै परीक्षणनै नगरि अयोग्यताको ट्याग लगाएर अपहेलित गरिएको बताएको छ।
‘व्यवसायबाट विस्थापित हुने वाताबरणको सृजना गरिदा बोर्डले बजारको सम्पूर्ण इतिहास बिर्सिएर हामीलाई राम्रो पुरस्कार दिएको छ भन्ने हामीलाई लागेको छ। यसबाट हामी अत्यन्तै मर्माहित भएका छौं, संघले भनेको छ।
संघले बजार तथा सेवाको बिस्तारका लागि गरेका बहुसंख्यक अनुरोधहरुलाई नियामकबाट नै बेवास्ता गरिएको, यस्तो बिस्तारका लागि नियामकबाट आजसम्म कुनैपनि निति निर्देशन जारि नभएको बताएको छ।
संघले कुनै पनि बित्तीय क्षेत्रका नियामकहरुले जोखिम हुने ठानि अवलम्बन नगरिएको खुला बजारको सिद्धान्तको नारा दिइ संख्यामात्र थप्न खोज्नु असल नियमनको सिद्धान्त बिपरित रहेको ठहर गरेको छ। ‘बजार बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको र एकदमै खर्चिलो माध्यमको रुपमा रहेको शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएको हुँदा व्यवसायिमाथि लगाइएको आरोप र त्यस आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्चको रुपमा मात्र हामीले लिएका छौं’, ज्ञापनपत्रमा भनिएको छ।
प्रकाशित: २७ असार २०७९ १०:०७ सोमबार