अर्थ

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्मित चौतारो र खाटमन्दिर जाने सिँढी।

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निशा घलेले सबभन्दा बढी १० र १५ नं. वडामा ११–११ वटा योजना सञ्चालन भएको बताइन्। उनका अनुसार ९ नं. मा ६ वटा, १३ र १६ नं. मा समान ५–५ वटा योजना निर्माण हुँदा ८ र १४ नं. मा पनि ४–४ योजना सम्पन्न भएका छन्। त्यस्तै ७ र १२ नं. मा ३–३ वटा र ४ नं. वडामा एउटा मात्र योजना सञ्चालन भएको घलेले बताइन्।

उनले वडा नंं १, २, ३, ५, ६ र ११ नं. वडामा भने माग नभएको हुनाले कुनै योजना सञ्चालन नभएको बताएकी छिन्। चालु वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमले त्रियुगालाई २ करोड ४२ लाख ६२ हजार रकम पठाएकोमा २ करोड २९ लाख १७ हजार २ सय ८६ खर्च भएको संयोजक घलेले बताइन्। जसमा साझेदारीवापत नगरपालिकाले १ करोड २३ लाख १९ हजार ७ सय ५० सहित कुल ३ करोड ५२ लाख ३७ हजार ३६ रुपैयाँ बजेट खर्च भएको उनको भनाइ छ।

यस कार्यक्रममार्फत नगरपालिकाले सडक ढलान, नयाँ सडक निर्माण, मर्मत, ग्राबेल तथा स्तरोन्नति, नाला निर्माण र मर्मत, पार्क सरसफाई, पुल स्ल्याब कल्भर्ट, सडक टेका पर्खाललगायत भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गरिएको छ। नगरका विभिन्न वडामा १३ वटा सडक नाला निर्माण र मर्मत गरिएको छ भने कतैकतै सडक आरसिसि ढलान पनि गरिएको छ।

खासगरी विद्यालय, शौचालय, पानीघट्ट, मन्दिर, वडा कार्यालय, टोल बस्ती, कुलो, पुल पुलेसोजस्ता सार्वजनिकस्थलमा यो कार्यक्रमलाई केन्द्रित गरेर संरचना निर्माण तथा मर्मतमा काम गरेको उनको भनाइ छ। समुदायको माग अनुसार वडाको सिफारिसमा गरिने यो काम अन्तर्गत कतिपय ठाउँमा नयाँ योजना निर्माण भएका छन् भने कतिपय पुराना र अधुरा योजनाहरुको पूर्णता र बिग्रे भत्केको मर्मत सम्भार कार्य भएको छ।

वडाले स्थानीय नागरिकको माग बमोजिम श्रमिकको सूचिकृत गरी काममा खटाइने यो कार्यक्रम अन्तर्गत चालु वर्ष सबै वडामा गरी १ हजार ९ सय ९७ कामदार सूचिकृत भएका थिए। त्यसमध्ये ४ सय ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। जसमा महिला कामदारको संख्या १ सय ८४ र पुरुष २ सय ४१ जना रहेको संयोजक घलेले बताइन्।

उनका अनुसार वडागत रुपमा सबभन्दा बढी १५ नं. वडाका १ सय २८ जनाले रोजगारी पाएका छन् भने दोस्रो ठूलो संख्यामा रोजगारी पाउने वडा १० नं. रहेको छ। दुवै वडाले समान ११–११ योजना सञ्चालन गरेकामा १० वडाले १ सय १५ जनालाई रोजगारी दिएको छ। सबभन्दा कम रोजगारी दिलाउने १३ नं. वडामा ५ वटा योजना सञ्चालन गर्दा ५ महिलासहित ८ जनाले रोजगारी पाएका छन्।

एउटै योजना रहेको ४ नं.वडाको बगाहास्थित सालघारी हरितपार्क र नाला सरसफाई कार्यक्रममा ४ लाख ५१ हजार ५ सय ७१ खर्च हुँदा २७ महिलासहित ३२ जनालाई रोजगारी मिलेको छ। त्यस्तै ३ वटा योजना सञ्चालित ७ नं. मा ९ महिलासहित १९ ले काम पाए भने ८ नं. वडामा सञ्चालित ४ योजनामा ७ महिलासहित १२ जनालाई काम मिलेको छ।

६ वटा योजना चलेको ९ नं. मा १७ जनाले काम पाउँदा १२ योजना चलेको १० नं. मा ५१ ले, ३ योजना निर्माण भएको १२ नं. वडामा १३ जनालाई रोजगारी मिल्दा ४ योजना चलेको १४ नं. मा १८ महिलासहित ६० जनाले काम पाएको घलेले बताइन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ले धेरै बेरोजगारहरुलाई गाउँ-ठाउँमै रोजगारी दिन सफल भएको बताए। यो कार्यक्रममा स्थानीय तहले साझेदारीमा काम गर्ने भएकाले सानो लगानीमा ठूला र महत्वपूर्ण कामहरु हुने गरेकाले प्रभावकारी देखिएको ढकालको भनाइ छ।

प्रकाशित: २७ असार २०७९ ०९:५० सोमबार

सदरमुकाम त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रम