ताप्लेजुङका स्थानीय तहहरुको आर्थिक वर्ष २०७७/०७८ को बित्तीय सुशासन जोखिम मूल्यांकनमा सिरिजंगा गाउँपालिका अब्बल देखिएको छ। दोस्रोमा फुङलिङ नगरपालिका रहेको छ। सिरिजंगाले ७६.५ अंक प्राप्त गर्दा फुङलिङ नगरपालिकाले ६१.५ अंक पाएको छ।
जिल्ला समन्वय समितिका सूचना अधिकारी केशव गुरागाँईका अनुसार पाथीभरा याङ्वरक गाउँपालिकाले ५४.५ अंक पाएको छ। सिदिङ्वा गाउँपालिकाले ४९.५ र मैवाखोला गाउँपालिकाले ४९ अंक पाएका छन्। मेरिङ्देन गाउँपालिकाले ४५.५ र आठराइ त्रिबेणी गाउँपालिकाले ४१.५ अंक पाएका छन्।
स्व–मूल्यांकनमा(आफैंले)प्रारम्भिक नतिजा तयार गर्दा सम्म ६५ अंकमा रहेको फक्ताङ्लुङ गाउँपालिका प्रारम्भिक नतिजा तयार गर्दा सम्म ३४.५ अंकमा सिमित रहेकोमा जिल्ला समन्वय समितिबाट तयार प्रारम्भिक नतिजामा आफ्नो पृष्णपोषण थप गर्नबाट चुकेको छ भने जिससको अन्तिम नतिजामा समाबेश हुन समेत छुटेको गुरागाँइले जानकारी दिए।
बित्तीय सुशासन जोखिम मूल्यांकनमा मिक्वाखोला गाउँपालिका यहाँका पालिकाहरुमा कमजोर देखिएको छ। मिक्वाखोलाले बित्तीय सुशासन जोखिम स्व–मूल्यांकनका लागि पालिकामा गर्नुपर्ने अनुशिक्षणदेखि पालिकाको तर्फबाट प्रारम्भिक नतिजा तयार,मूल्यांकनको मिति तय,प्रारम्भिक नतिजा तयार र जिल्ला समन्वय समितिबाट तयार प्रारम्भिक नतिजामा आफ्नो पृष्णपोषण थपसहितका क्रियाकलाप छुटाएपछि जिससको अन्तिम नतिजामा समेत समावेश हुन छुटेको देखिएको गुरागाँइले जानकारी दिए।
स्थानीय तहको बित्तीय प्रणाली व्यवस्थित,पारदर्शी,विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय बित्त व्यवस्थापनका सम्भावित जोखिम क्षेत्रहरुको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको बित्तीय सुशासनलाइ संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय सरकारले स्थानीय तह बित्तीय सुशासन मूल्याङकन कार्यविधि जारी गरेको छ।
कार्यविधिको परिच्छेद ३ नं ४ को (१) बमोजिम बित्तीय सुशासन सम्वन्धी कार्यको मूल्यांकन सम्वन्धित जिल्ला समन्वय समितिमार्फत हुने व्यवस्था रहेको छ। कार्यविधि अनुसार कानुनी प्रकृयाको उल्लंघनको जोखिम दर्शाउने सूचकहरुको जोखिमको(प्रकृयाको जोखिम)अंकभार ५३ प्रतिशत हुने छ। यस्तै जनताको जीवनमा परिणाममुखी र सकारात्मक परिवर्तन नहुने गरी सार्वजनिक स्रोतको प्रयोग हुने जोखिमका सूचकहरुको अंकभार(नतिजाको जोखिम) १३ प्रतिशत हुने व्यवस्था रहेको छ।
सार्वजनिक स्रोत,साधान र अधिकारलाइ निजी लाभका निम्ति उपयोग हुने सम्भावनाको जोखिमका क्षेत्रहरुको सूचक(बित्तीय अनुशासनको जोखिम)को अंकभार ३४ प्रतिशत रहने कार्यविधिमा उल्लेख गरिएको छ।
प्रकाशित: २६ असार २०७९ ११:२२ आइतबार