अर्थ

बुटबल-नारायणगढ सडक ४१ महिनाको प्रगति १८ प्रतिशत

चिनियाँ कम्पनीलाई एक वर्ष म्याद थप्ने तयारी

सरकारले बुटवल-नारायणगढ खण्डको सडक निर्माणमा संलग्न चिनियाँ कम्पनीलाई कारबाही गर्नुको सट्टा एक वर्ष म्याद थप्ने तयारी गरेको छ। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पाेरेसनले बुटबल-नारायणगढ सडक खण्ड ४१ महिनाको अवधिमा २० प्रतिशतभन्दा कम मात्र काम गरेको छ। तोकिएको समयभित्रै काम नगर्ने चिनियाँ कम्पनीले दुई वर्ष म्याद थप गरिदिन अनुरोध गर्दै आएको छ।  

ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनीको म्याद सकिन अब एक महिना (आगामी साउन २२ गते) मात्रै बाँकी छ।सडक विभागले भने समयमै काम नगर्ने कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा एक वर्ष म्याद थप गर्ने तयारी गरिरहेको छ। अहिलेसम्म यो आयोजनाको समष्टिगत भौतिक प्रगति २० प्रतिशतभन्दा कम छ। यो सडक अन्तर्गत ११३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनासहित २०७५ चैत ८ गते उद्घाटन गरिएको थियो। ठेक्का सम्झौता अनुसार यो सडकखण्ड ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।  

सरकारले आव २०७५/७६ मा ११३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो तर तोकिएको साढे तीन वर्षको भौतिक प्रगति हेर्दा आगामी आवमा दुई वर्ष म्याद थप गरे पनि निर्माण सम्पन्न हुने देखिएको छैन।  

बुटबल-नारायणगढ पश्चिम सडक योजना प्रमुख प्रदिपराज शाक्यले आयोजनाको समष्टिगत भौतिक प्रगति करिब २० प्रतिशत रहेको बताए। ‘चिनियाँ कम्पनीले दुई वर्ष म्याद थप गर्नका लागि पहल गरिहेको छ,’ उनले भने, ‘सडक विभागले ठेकेदार कम्पनीको प्रस्तावमाथि आवश्यक अध्ययन गरेर कम्तीमा पनि एक वर्ष जतिको म्याद थप गर्न सक्ला।’  

ठेकेदार कम्पनीले दुवैतर्फको बुटवल नारायणगढ सडक पूर्वी खण्ड र पश्चिम खण्डका लागि ६ महिना अगावै म्याद थप गरिदिन निवेदन दिएको थियो। सडक विभागले भने अहिलेसम्म यी दुवै खण्डको म्याद थप गर्ने निर्णय गरिसकेको छैन। बुटबल- नारायणगढ सडकखण्ड अन्तर्गत ११३ किलोमिटर सडक पर्दछ। बुटबल-नारायणगढ पूर्वीखण्डमा ६४.४२५ किलोमिटर सडक पर्छ। त्यसैगरी बुटबल-नारायणगढ पश्चिमखण्ड अन्तर्गत ४८.५३५ किलोमिटर विभाजन गरेर निर्माण गरिदैंछ।  

नारायणगढ-बुटबल सडक पश्चिम खण्डको प्रगति २० प्रतिशत

यो सडक योजनाको पश्चिम खण्डमा ४८.५३५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्नुपर्ने हुनेछ। यो खण्डअन्तर्गत दाउन्ने खण्डमा १० किलोमिटर सडक तीन लेनको सडक विस्तार गरिनेछ। बजार क्षेत्रको ११.२ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिँदैछ। त्यसैगरी २७.३३५ किलोमिटर सडक चार लेनमा स्तरोन्नति र साना र ठूला गरेर जम्मा ३० वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। यो आयोजना २०७५/७६ मा निर्माण सुरु गरिएको थियो। यो खण्ड भ्याटसहित ७ अर्ब ८६ करोड रूपैयाँमा ठेक्का लगाइएको हो।  

बुटबल-नारायणगढ पश्चिम सडक योजना प्रमुख शाक्यले अहिलेसम्म यो खण्डको भौतिक प्रगति २० प्रतिशत भएको बताए। ‘यो खण्डमा अहिलेसम्म ठेकेदार कम्पनीले कालोपत्रेको काम सुरु गरेको छैन,’ उनले भने, ‘आगामी आवको हिउँददेखि कालोपत्रेको काम सुरुवात होला कि।’ योजनाका अनुसार अहिलेसम्म १३ वटा साना खालका पुल निर्माण भइसकेका छन्। तीन वटा ठूला पुल निर्माणको काम भएको छ। ८० वटा कल्भर्ट निर्माण सकिएका छन्।

५० वटा कल्भर्ट निर्माणको काम भइरहेको छ। १३ हजार मिटरमा सडकको छेउछाउमा नाली निर्माण गरिएको छ। २४-२५ किलोमिटर सडकमा माटो पुर्ने काम भइरहेको छ। ‘एकातर्फ सुरुवात ताका यो योजनामा रुख कटान, बिजुलीको पोल सार्ने लगायतका जटिलता देखिएको थियो। अर्काेतर्फ कोभिड १९ को कारणले पनि योजना निर्माणमा धेरै धक्का लाग्ने काम भयो,’ योजना प्रमुख शाक्यले भने, ‘यो योजना एउटा कारणलेभन्दा पनि धेरै कारणले समस्या देखिएको हो।’  

योजना प्रमुख शाक्यले ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालको कारणले पनि आयोजना निर्माणले गति लिन नसकेको बताए। यो कम्पनीले सडक निर्माण सम्पन्न गरेको पाँचवर्षसम्म पनि पर्फर्मेन्स बेस मेन्टिनेन्स अन्तर्गत नियमित मर्मतसम्भार गर्नुपर्ने हुन्छ। चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पाेरेसन, आयोजना निर्देशनालय (एडिबी) र सडक विभागको लापरबाही र ढिलासुस्तीले आयोजनाको प्रगति निराशाजनक देखिएको हो।  

यस्तो छ पूर्वी खण्डको प्रगति

नारायणगढ-बुटवल सडक योजना (पूर्वी खण्ड)को भौतिक प्रगति १८ प्रतिशत भएको छ। पूर्वीखण्ड अन्तर्गत ६४.४२५ किलोमिटर सडक कालोपत्रे गर्नेपर्ने हुन्छ। जसअन्तर्गत दाउन्ने खण्डमा ४.१ किलोमिटर तीन लेनको सडक विस्तार गरिँदैछ। त्यसैगरी बजार क्षेत्रमा १७.४ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिने योजना रहेको छ। त्यसैगरी बाँकी रहेको ४३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न लागिएको हो। त्यसैगरी यो खण्डमा साना ठूला गरेर ३४ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। यो खण्डको कुल लागत भ्याटसहित ९ अर्ब १३ करोड लागतमा ठेक्का लगाइएको हो।

प्रकाशित: २६ असार २०७९ ०६:३० आइतबार