अर्थ

चितवनका व्यवसायीद्वारा ३ हजार ६ सय ७८ जना कामदारको माग

रोजगारीका लागि दैनिक हजारौँ युवाहरु विदेश पलायन भैरहेका छन्। जीविकोपार्जन गर्न आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नहुँदा युवाहरु विदेशिन बाध्य भएका हुन्छन्। यसलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका र रत्ननगर नरपालिकाले भरतपुरमा राखेको ‘वृत्ति मार्गनिर्देशन रोजगार मेला’मा कामदारको जनशक्ति भन्दा कामदारको आवश्यकता बढी देखिएको छ। बुधबार र बिहीबारसम्म भरतपुरमा संकलन गरिएको विवरण अनुसार, १ हजार १११ जना कामदार अपूग देखिएका छन्।

चितवनका व्यवसायीले ३ हजार ६७८ जना कामदारको लागि आवेदन माग गरेका छन्। तर, विभिन्न पेशाहरुमा रोजगारको लागि २ हजार ५७६ जनाले आवेदन फारम भरेको मेलाका संयोजक महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए। ‘चितवनमा कामदारको दक्ष कामदारको आवश्यकता बढी छ। राजगार मेलामा पनि विभिन्न पेशाहरुमा जनशक्तिका लागि आवेदन दिनेको संख्या बढी छ, ’उनले भने, ‘दक्ष जनशक्तिको आवश्यकता अनुसार कामदार तयार गर्नुपर्ने आवश्यकता देखिएको छ।’

फारम भरेका मध्ये विभिन्न पेशाहरुमा १७ जनाको रोजगार सुनिश्चित भएको पौड्यालले बताए उनका अनुसार, करिब ५ सय जनाको आफ्नो सीप र चाहनाअनुसारका विभिन्न रोजगारदातासँग सकारात्मकरुपमा सम्पर्क अगाडि बढेको छ। 

बाँकी रहेको आवेदकहरुको दक्षताको आधारमा सम्बन्धित पेशागत संघमार्फत समन्वय गरिने बताइएको छ। मेलामा ब्यूटिसियन, बारिस्टा, अटोमोबाईल, प्लम्बर, इलेक्ट्रिकल, होटल तथा कृषि सम्बन्धी सीपमुलक तालीमहरुको समेत माग रहेको उनको भनाई छ।

चितवनका होटल व्यवसायमा  १ हजार, अटोमोवाईल व्यवसायमा ३५०, सूनचाँदी व्यवसायमा  २५०, फर्निचरमा २००,अटोमेकानिकल व्यवसायमा ५०, विद्युत व्यवसायीमा ५०, आईटी सेक्टरमा २५०, मुद्रण व्यवसायमा ५०, प्लाष्टिक व्यवसायमा १०० जना कामदार आवश्यक रहेको उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निर बहादुर केसीले बताए। 

तर, सीप अनुसारका कामदार नपाईने गरेको उनले बताए। मेलालाई रोजगारदाता र कामदारको तथ्याङ्क संकलन गर्ने माध्यमका रुपमा समेत लिईएको थियो। यही आधारमा व्यवसायीले कामदार राख्ने गरि व्यवस्था गरिएको केसी बताउँछन्। ‘यहाँ प्राप्त भएको आवेदनलाई कार्यालयमा लगेर कुनसंग सम्बन्धीत छ। त्यसलाई छनोट गरेर रोजगार दिने योजना बनाएका छौँ,’ उनले भने,  

बेरोजगार युवाहरु अवसरको खोजीमा छन्। सुरक्षित भविष्यका लागि कोही विदेश गइसकेका छन् भने कोही स्वदेशमै अवसरको खोजीमा छन्। अवसर पाएकाहरुले पनि मेहनत अनुसारको आम्दानी गर्न सकेका छैनन। 

क्षमता र दक्षताअनुसारको काम स्वदेशमै पाइन्छ कि भनेर कतिपय युवा लागेका छन्। त्यस्ता व्यक्तिहरु संगै व्यवसायीलाई समेत यस मेलाले सहयोग पुगेको विश्वास व्यक्ति गर्दछन्, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ। ‘यस मेलाले रोजगारदाता र कामदारको सम्बन्ध जोड्ने काम गरेको छ,’ उनले भने, ‘काम अनुसारको कामदार खोज्न सहज हुने देखिन्छ।’

भरतपुर महानगरपालिका र रत्ननगरपालिकाको आयोजनामा रोजगार मेला भएको थियो। बुधबार र बिहीबार गरि दुई दिनसम्म सञ्चालन भएको मेलामा ११ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ। उद्योग व्यवसायीबाट पनि आवश्यक कामदारको फारम भोराईएको थियो। यसले रोजगारी सृजना गर्न महत्वपुर्ण भूमिका खेलेको उद्योग व्यवसायीले बताएका छन्। 

चितवनमा उद्योग कलकारखान, होटल, पर्यटन क्षेत्रमा कामदारको ठुलो आवश्यकता छ ,भने कामदारको संख्या पनि उत्तिकै छ। उनीहरुको तथ्याङ्क लिएर पछि योजना बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको  महानगरले जनाएको छ।

प्रकाशित: २४ असार २०७९ १४:२२ शुक्रबार