अर्थ

मर्जरका कारण लामोसमय शेयर रोक्का हुने व्यवस्था अन्त्य गर्ने तयारी

मर्जरका कारण लामो समय शेयर कारोबार  रोक्का हुने समस्या समाधान गर्न धितोपत्रबोर्डले तयारी थालेको छ। मर्जरका कारण लामो समयसम्म  शेयर कारोबार गर्न नपाउँदा पूँजी बन्धन हुने गरेको लगानीकर्ताको गुनासोपछि धितोपत्र बोर्डले टास्कफोर्स नै गठन गरेर समस्या समाधानमा लागेको वोर्डका कामु निर्देशक तोलाकान्त न्यौपानेले बताए।  

शुक्रबार नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि(ब्रोकर नम्बर १९) ले विराटनगरमा आयोजना गरेको शेयर बजार सम्बन्धी वित्तीय साक्षरता तथा सचेतानमुलक कार्यक्रममा कामु निर्देशक  न्यौपानेले धितोपत्र बोर्डले मर्जरका कारण लामोसमय शेयर कारोबार रोकिने समस्या समाधानका लागि टास्कफोर्स गठन गरिसकेकाले चाँडै समस्या समाधान हुने उनको दाबी छ। ‘मर्जरको समस्या समाधानका लागि धितोपत्र बोर्डले टास्कफोर्स नै गठन गरेर काम गरिरहेकाले मर्जर सम्बन्धी समस्या समाधानका विषयमा केहि महिनाभित्रै परिणाम पनि देखिने  ’ न्यौपानेले भने। 

 उनले आश्वा शुल्क ज्यादा भएको   लगानीकर्ताले बारम्बार गुनासो गरिरहेकालले लगानीकर्ताको गुनासो सम्बोधन गर्न आश्वाशुल्क घटाउने तयारी  पनि भइरहेको जानकारी दिए। हाल शेयर भरेबापत बैंकहरूले १ सय रुपैयाँ सम्म  शुल्क लिने गरेको र यस्तो शुल्कको सीमा घटाउने तयारी भइरहेको न्यौपानेले बताए।  

कार्यक्रममा लगानीकर्ताहरूले जसको शेयर पर्छ उसको मात्रै आश्वा शुल्क लिने व्यवस्था गर्न, आज किनेको शेयर आजै वा भोलिनै बेच्न पाउने व्यवस्था गर्न र मर्जरका कारण लामोसमय पूँजी बन्धकहुने समस्या समाधान गर्न  माग राखेका थिए।  नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता तथा सचेतान कार्यक्रम आयोजना गरेको विराटनगर शाखाका म्यानेजर विवेक पौडेलले जानकारी दिए। कार्यक्रममा विराटनगरका शेयर लगानीकर्ताहरू र विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २४ असार २०७९ १३:१८ शुक्रबार