अर्थ

पोखरामा ‘चैते ५’ धान उत्पादन सफल

पोखरा क्षेत्रमा ‘चैते ५’ जातको चैते धानको उत्पादन सफल भएको छ। यो धान रोपेका किसान उत्पादन सफल भएपछि खुसी भएका छन्। परीक्षणकोरुपमा लगाइएको धानले उत्पादन दिएको किसानले बताएका छन्।  

यो धान परीक्षणको रुपमा पोखरा महानगरपालिका– १३ आर्वाका किसानले रोपेका थिए। आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले किसानले रोपेको धानले उत्पादन राम्रो दिएको जानकारी दिए। धानबाली नथन्क्याइएको भएपनि बाला र दाना राम्रो लागेको उनले बताए। ‘धान भित्रयाईसकेका त छैनौ, तर, राम्रो फलेको छ, दाना र बाला निकै नै राम्रो छ,’ उनले भने, ‘धान पाकेकोले अब भित्र्याउने बेला भएको छ।’

चैते ५ धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा लगाएको धानले राम्रो उत्पादन दिएको महानगरको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। उनले वर्षेभन्दा चैते धान कम्तिमा दोब्बर फल्ने दाबी गरे। चैते–५ जातको धान मसिनो र खान पनि मिठो हुने हुँदा अगामी सिजनमा यो धान रोम्ने किसान बढ्ने कडरियाको अनुमान छ।  

यो सिजनमा चैते धान लगाउन ढिलाई भएकाले पाक्ने समय पनि केही ढिलो भएको छ। चैते ५ जातको धान एक सय २० दिनमा पाक्ने जानकारी उनले दिए। फागुन मध्यतिर रोप्न पाएको भए यतिबेला पाकिसक्ने भएपनि  यसपाली चैतको मध्यतिर मात्र धान रोपिएकाले थोरै ढिला हुन पुगेको उनको भनाई छ।  

उनले खेती हुने जमिन बाँझो राख्न नहुने र उत्पादन लिइरहे खाद्यान्न आयात गर्न नपर्ने धारणा राखे। ‘जमिनको उपयोग गर्नुपर्छ, जे उतपादन हुन्छ जमिन खाली नगराखी उत्पादन गर्नसक्नुपर्छ त्यसो हुँदामात्र खाद्यान्न आयात गर्नुपर्दैन,’ उनले भने।

प्रकाशित: २४ असार २०७९ ०८:२८ शुक्रबार

चैते ५ धान