अर्थ

राजश्व लक्ष्य पूरा गर्न नाका भन्सारले सामान रोक्नुको कुनै अर्थ छैनः मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन्।

बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्। उनले राजश्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए।

मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौँ उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने बताए। उनले छिटो छरितो भएर सुविधाहरु बढ्दै जाँदा राजश्व पनि वृद्धि हुने बताए। मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्णरुपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टरमोडललाई निर्देशन दिए।

मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए। उनले बन्दरगाह सञ्चालनमा ल्याउनको लागि मार्केटिङ, रेडियोमार्फत प्रचारप्रसार गर्न निर्देशन दिए। मन्त्री बडूले बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिर्वतन गर्न तयार रहेको बताए। मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक, अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुख्खा बन्दरगााह सञ्चालनमा ल्याउनुपर्ने बताए। 

प्रकाशित: २३ असार २०७९ १२:५३ बिहीबार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू राजश्व संकलन