अर्थ

असिनाले गर्दा घट्दो आलु उत्पादन

फाइल तस्बिर

काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो। यहाँका अधिकांश किसानको वार्षीक आम्दानीको स्रोत हो आलु खेती। आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ।  

माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन्। वर्षेनी असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो। धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उनको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उनको बालीमा ठुलो क्षति गर्‍यो।

केही वर्ष पहिलेसम्म उनको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे। यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उनले फसल लिन पाए। 'दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो', छन्त्यालले भने, 'अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन।'  

तुसारो र असिनाका कारण आलुमा देखिने रोगको संक्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ। धम्जामा व्यवसायीक रुपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौँ किसानको लाखौँको आलुबाली नष्ट भएको तथ्यांक वडा कार्यालयसँग छ।  

धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ। असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्षति पुर्‍याउने गरेको छ। यस वर्ष मात्रै झण्डै ३० लाख मूल्य बराबरको आलु बालीमा क्षति भएको तथ्यांक वडा कार्यालयसित छ।  

'हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने की भन्ने योजानमा छौँ', वडाध्यक्ष तुलबहादुर विकले भने, 'असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं।' वडाले पीडित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्षतिको विवरण तयार गर्ने काम गरिरहेको छ।

प्रकाशित: २३ असार २०७९ ०५:१५ बिहीबार

आलु