अर्थ

मुगुको रारा क्षेत्रमा पुग्यो बिजुली

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको छ।

यो समुन्द्र सतहदेखि २९९० मिटर उचाइमा अवस्थित छ। प्राधिकरणले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी रारा क्षेत्रमा उपलब्ध गराएको हो।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट उत्पादित बिजुली घरायसी प्रयोजनमा मात्र प्रयोग हुँदै आएको थियो। अव जलविद्युत् गृहबाट उत्पादित विद्युत् २४ सै घण्टा आपूर्ति हुनेछ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र छेउछाउका घरले विद्युत् पाएका छन्।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ। प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए।

‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पुर्‍याउन सफल भएका छौं’-यादवले भने। 

प्रकाशित: २२ असार २०७९ ०३:०९ बुधबार

नेपाल विद्युत् प्राधिकरण मुगुस्थित रारा ताल क्षेत्र विद्युत् आपूर्ति सुरु