अर्थ

आइतबार ५७ बिन्दुले नेप्से बढ्दा कारोबार साढे २ अर्ब नजिक

सेयर बजारमा उछाल कायमै

गत साताभरमा १ सय ६६ बिन्दुले बढेको सेयर कारोबारको उछाल आइतबार पनि कायमै रहेको छ। लामो समयदेखि गिरावट आइरहेको बजारमा गत साता सुधार आएको थियो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक ५७.६५ बिन्दुले बढेर २०८६.४२ मा आएको छ। आइतबारको वृद्धि २.८४ प्रतिशतको हो। कारोबार रकम पनि साढे २ अर्ब रूपैयाँ नजिक पुगेको छ।

एक्सचेञ्जका अनुसार आइतबार २०२८ बिन्दुबाट दिनको कारोबार सुरु भएको थियो। बजार सुरु भएपछि अधिकांश समय कारोबार बढिरहेको थियो। एकाध पटक कारोबार ओरालो लाग्न खोजे पनि तत्कालै सुधार आएको थियो। दिनभरको कारोबारमा नेप्से न्यूनतम २०२१ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा नेप्से २०८६ बिन्दुमा पुगेको हो।

एक्सचेञ्जका अनुसार आइतबार नेप्सेका अतिरिक्त सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ १०.२१, फ्लोट ३.७३ र सेन्सेटिभ फ्लोट ३.०८ बिन्दुले बढेका हुन्।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबार बढेको छ। यी उपसूचकमध्ये सबैभन्दा धेरैले उत्पादन तथा प्रशोधन उपसूचक बढेको छ। यो २५० बिन्दुले बढेको हो। यस्तै ६ वटा उपसूचक एक सयभन्दा धेरैले बढेका छन्। निर्जीवन बिमा १८२, व्यापार १७४, जीवन बिमा १७०, लघुवित्त १३९, जलविद्युत् १२८ र विकास बैंक उपसूचक ११८ बिन्दुले बढेका हुन्। कारोबारमा ५० देखि एक सय बिन्दु बीचमा बढ्नेमा होटल तथा पर्यटन ९४ , अन्य ७२ र फाइनान्स ६५ बिन्दु छन्।

यस्तै अरू सबै उपसूचक धेरैले बढे पनि सामूहिक लगानी कोष ०.०६ बिन्दुले मात्र बढेको छ। बैंकिङ उपसूचक १६.८३ बिन्दुले बढेको छ। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले व्यापार उपसूचक बढेको छ। यो ९.३० प्रतिशतले बढेको हो। यस्तै सबै भन्दा कम सामूहिक लगानी कोष ०.४४ प्रतिशतले बढेको छ।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीहरूमध्ये ६ वटाको प्रतिसेयर मूल्य १० प्रतिशतले र ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। सेयर मूल्य १० प्रतिशतले बढ्नेमा साल्ट ट्रेडिङ, हिमालय पावर, अपर तामाकोशी, सेनजेन जलविद्युत्, नेस्डो समृद्धि लघुवित्त, सिवाईसी लघुवित्त कम्पनी रहेका छन्।

यस्तै कारोबार भएका कम्पनीमध्ये बैंक अफ काठमाडौंको डिभेञ्चर सेयर सबैभन्दा धेरै प्रतिशतले घटेको छ। यसको सेयर मूल्य ९.३१ प्रतिशतले घटेको हो। यस्तै ङादी ग्रुप ३.२३ र प्रभु सेलेक्ट फण्ड ३.१८ बिन्दुले घटेका छन्।

यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार ङादी ग्रुपको भएको छ। यसको २२ करोड २८ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख र शिवम सिमेन्टको ६ करोड ९७ लाख रूपैयाँको कारोबार भएको हो।

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर ङादी ग्रुपको भएको छ। यसका ४ लाख ३६ हजार ५ सय २७ कित्ता सेयर  बिक्री भएका हुन्। यस्तै अरूण भ्याली जलविद्युत्को १ लाख ६५ हजार ५ सय १४ र नेशनल हाइड्रोको १ लाख ५५ हजार २ सय ६० कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार आइतबार २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९३ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब ४८ करोड ४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २९ खर्ब ७४ अर्ब रूपैयाँमा पुगेको छ।

प्रकाशित: २० असार २०७९ ०१:०८ सोमबार

सेयर बजार उछाल कायमै