अर्थ

चितवनमा चैते धानको उत्पादकत्व २० प्रतिशत वृद्धि

चितवनमा चैते धानको उत्पादकत्व बढ्दै गएको छ। कृषिमा यान्त्रिकरण, गुणस्तरीय बीउ, कृषकहरूको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, पछिल्ला ४ वर्षमा २० प्रतिशतले चैते धानको उत्पादकत्व बढेको छ।  

‘२०७६ मा चैते धान प्रतिहेक्टर ३ दशमलव २३ मेट्रिक टन उत्पादन हुने गरेको थियो। यो वर्ष ५ दशमलव २७ प्रतिशत छ,’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने, ‘यान्त्रिकरण र गुणस्तरीय बीउकै कारण उत्पादकत्व बढेको छ।’ उनका अनुसार चितवनमा कृषि ज्ञान केन्द्रले पनि गुणस्तरीय बीउ वितरण गर्दै आएको छ। यस वर्ष धान खेतीका लागि मात्र ज्ञान केन्द्रले २ करोड ५० लाख रूपैयाँ स्वीकृत गरेको छ।  

चितवनमा चैते धानको उत्पादकत्व बढे पनि क्षेत्रफल भने घट्दै गएको छ। चार वर्षमा ५७ हेक्टर जमिन घटेको पाण्डेले बताए। ‘२०७५/०७६मा ७ हजार ५२७ हेक्टरमा धान खेती भएको थियो। अहिले ७ हजार ४७० हेक्टरमा मात्र भएको छ,’ उनले भने, ‘केरा खेतीको विस्तार र तरकारी लगायतका नगदे बालीमा किसान आकर्षित हुँदा जमिन घटेको छ।’ चितवन धानमा आत्ननिर्भर समेत छ। यहाँबाट अन्य जिल्लामा बीउ समेत जाने गरेको पाण्डेले बताए।  

चितवनका किसानले चैते ५ धान लगाउन सुरु गरेका छन्। हर्दिनाथ १ मा घाँटी मरुवा रोग बढी देखिँदा त्यसको विकल्पमा चैत ५ रोजेका हुन्। नेपालमै विकास गरिएको हर्दिनाथ हाइब्रिड १ को पनि खेती सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धानबहादुर थापाले जानकारी दिए। सूचीकरण नभएका खाद्यान्न बालीका जातहरूको खेतीलाई निरुत्साहित गर्दै लगिएको उनले बताए। गुणस्तरीय बीउ भएमा २० प्रतिशत धानको उत्पादकत्व बढाउन सकिने उनको भनाइ छ। ‘कृषि यान्त्रिकरण बीउ छनोट गर्न सके उत्पादन बृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘अहिले यान्त्रिकरणको विस्तारले लागत मूल्य पनि घटाएको छ।’  

चितवनमा वर्षे र चैते गरी ३० हजार ५०० हेक्टरमा धान खेती हुँदै आएको छ। हालसम्म २५ प्रतिशतमा रोपाइँ भैसकेको छ।

प्रकाशित: १९ असार २०७९ ०३:२८ आइतबार