राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरका किसानमा पाँच वर्षअघि कुनै उत्साह थिएन। पुरानै प्रविधि, मिहिनत बढी तर उत्पादन कम। यस्तो अवस्थामा नयाँ पुस्ताका युवामा कृषि पेसाप्रति आकर्षण थिएन। निर्वाहमुखी कृषि मात्रै चलिरहेको थियो।
आर्थिक वर्ष २०७५/७६ लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र बाँकेमार्फत् स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरेपछि अहिले त्यहाँ कृषि पेसाले नयाँ रूप धारण गरेको छ। स्थानीय किसानसँग अहिले बीउ रोप्नेदेखि बजार पुर्याउनेसम्मका मेसिन छन्।
मेसिनको प्रयोगका फाइदाबारे मकै छोडाउने एक मेसिनको उदाहरण दिँदै स्थानीय किसान खोजलाल थारु भन्छन्, ‘यो एउटा मेसिनले १० जना मान्छेले एक दिनमा गर्ने काम एक घण्टामा गरिदिन्छ। समयको पनि बचत र लागत कम लाग्छ। यति भएपछि हामीलाई धेरै सजिलो भएको छ। यस्तै अरू मेसिनले पनि लागत र शारीरिक श्रम घटाएपछि अहिले धेरै स्थानीय कृषिमा आबद्ध हुन थालेका छन्। पहिले वर्षमा दुई वटा खेती हुन्थ्यो भने अहिले कम्तीमा तीन बाली खेती गर्न थालेका छन्।’
‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागु भएपछि किसानले विभिन्न नौ प्रकारका मेसिन पाएका छन्। २० बिघा जमिनमा वर्षामा धान, हिउँदमा तोरी वा आलु र बीचको समयमा वसन्ते मकै गरी तीन बाली खेती भइरहेको छ। एक सय सात घरधुरी स्मार्ट कृषि गाउँ कार्यक्रममा आबद्ध भएका छन्। ट्युबवेलमार्फत सिँचाइ सुविधा विस्तार भएको छ। विभिन्न नौ प्रकारका मेसिन उनीहरूले जोडेका छन्। उनीहरूले कम्प्युटरलगायतका साधन पनि प्राप्त गरेका छन्। ‘अहिले गाउँ ‘स्मार्ट’ बन्ने बाटोमा अघि बढेको छ,’ किसान थारुले भने।
खजुरा गाउँपालिका–२ सीतापुर स्मार्ट कृषि गाउँका संयोजक लालबहादुर खत्री पनि स्मार्ट कृषि गाउँले गाउँमा कृषिप्रतिको आकर्षण बढाइदिएको बताउँछन्। गाउँका एक ३० घरधुुरीले एक सय २० हेक्टर क्षेत्रफलमा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रमसँग जोडिएर कृषि उत्पादन गरिरहेको उनले बताए। विशेषगरी तरकारी र दलहन उत्पादनलाई उक्त गाउँले जोड दिएको छ।
कृषक खत्री भन्छन्, ‘हिजो केही पनि नगर्नेलाई अहिले कृषिमा सक्रिय बनायो। नयाँ प्रविधिसँग साक्षात्कार गरायो। यी सिकाइलाई अब हामीले निरन्तरता दिन आवश्यक छ,’ खत्रीले भने। कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यसहित लुम्बिनी प्रदेश सरकारले बाँकेका पाँचवटा गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरेर अनुदान दिएको थियो।
राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुर सर्री, कोहलपुर नगरपालिका–१२ खड्गबार, खजुरा गाउँपालिका–२ सीतापुर, नेपालगन्ज उपमहानगरपालिका १२ को बेलासपुर क्षेत्र, बैजनाथ गाउँपालिका–४ को नौलापुर/तिलकपुर गरी पाँचवटा स्मार्ट गाउँ छनोट गरिएको थियो। तीमध्ये अधिकांश कृषि गाउँका कृषकले प्रविधियुक्त बन्ने अवसर पाएका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेश भट्टराई भन्छन्– ‘स्मार्ट कृषि गाउँ कार्यक्रम बाँकेमा सफल भएको हामीले ठानेका छौं। प्राप्त प्रविधिको उपयोग राम्ररी गर्न सक्ने हो भने अब किसानको लागत घट्ने र उत्पादन बढ्ने छ। त्यसको संकेत पनि हामीले देखिसकेका छौँ। हिजोको उनीहरूको आम्दानी र काम गर्ने तरिका र बाली छनोटमा उनीहरूले धेरै प्रगति गरेका छन्।’
स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषि उत्पादनको विकासका लागि चाहिने पानी, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणलाई समेत जोडेको थियो। हरेक स्मार्ट कृषि गाउँलाई पहिलो वर्ष ५०/५० लाख रूपैयाँ बजेटसमेत विनियोजन गरिएको थियो। सबै गाउँमा उक्त कार्यक्रम सञ्चालनको लागि स्मार्ट कृषि गाउँ सञ्चालक समितिको गठन गरिएको थियो।
सञ्चालक समितिले छनोट गरेका बालीसँग सम्बन्धित प्रविधि कृषि गाउँहरूले प्राप्त गरेका छन्। यसले कृषकहरूलाई दीर्घकालीन महत्व राख्ने गरी प्रविधियुक्त बनाएको छ। यस आर्थिक वर्षदेखि भने यो कार्यक्रम सकिँदैछ। कृषक लालबहादुर खत्री भन्छन्, ‘कार्यक्रम सधै रहिरहनुपर्छ भन्ने छैन। तर सिकाइ र उपलब्धिहरूलाई निरन्तरता दिनुपर्छ। स्मार्ट कृषि गाउँलाई सहकारीको अवधारणामा बदलेर यसलाई निरन्तरता दिइनुपर्छ।
प्रकाशित: १७ असार २०७९ ०५:३७ शुक्रबार