अर्थ

२७ सुरुङमार्ग निर्माण गर्ने लक्ष्य आधा दर्जनको मात्रै अध्ययन

विभागका अनुसार ठूला प्रकृतिका सुरुङमार्गको अध्ययनको लागि १० करोडदेखि १५ करोड रूपैयाँसम्म लाग्ने गर्छ। सरकारले भने सुरुङमार्ग अध्ययनको लागि १० लाखदेखि एक करोड रूपैयाँ मात्रै विनियोजन गर्दै आइरहेको छ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा २७ वटा सुरुङमार्ग अध्ययन र निर्माण गर्ने घोषणा गरेका थिए। चालु आर्थिक वर्ष सम्पन्न हुन १५ दिन मात्र बाँकी रहँदा मुस्किलले आधा दर्जन सुरुङमार्गको अध्ययन कार्य अघि बढेको छ।

अर्थमन्त्री शर्माले चालु आवमा २७ वटा सुरुङमार्ग अध्ययनको लागि एक अर्ब ६ करोड रूपैयाँ विनियोजन गरेका थिए। सरकारले चालु आर्थिक वर्षमा राखेको लक्ष्य अनुसार सुरुङमार्गको अध्ययन गर्न सकेको छैन। विगतका वर्षमा झैं यस वर्ष पनि बजेट वक्तव्यमा सुरुङमार्ग अध्ययन गर्ने आकर्षक खालका योजना समावेश गरिए पनि कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले सुरुङमार्ग निर्माण कार्यले गति लिन सकेको छैन।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चालु आर्थिक वर्षमा आधा दर्जन सुरुङमार्ग अध्ययन सुरु भएको बताए। ‘सरकारले प्रतिस्थापन विधेयक मार्फत २७ वटा सुरुङमार्ग अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको थियो,’ उनले भने– ‘यो अवधिमा करिब आधा दर्जन सुरुङमार्गको मात्रै अध्ययन प्रक्रिया अघि बढेको छ।’

विभागका महानिर्देशक थापाले चालु आर्थिक वर्षमा जुम्ला–इमिलचा खोला सुरुङमार्ग, दुम्कीबास–बर्दघाट सुरुङको अध्ययन प्रक्रिया अगाडि बढेको बताए। ‘अधिकांश सुरुङमार्गको अध्ययन टेण्डर प्रक्रियाबाट आउटसोर्सिङ गरेर गराउनुपर्ने भएकाले पनि लक्ष्य अनुसार सुरुङमार्गको अध्ययन गर्न नसकिएको हो’, उनले भने– ‘सरकारले सुरुङमार्ग अध्ययनको लागि पर्याप्त बजेटको अभावको कारणले पनि समस्या भइरहेको छ।’

दातृनिकायले कोभिड १९ को कारण देखाउँदै सुरुङमार्गको अध्ययन प्रक्रिया प्रभावित हुँदै आइरहेको उनले बताए। ‘टोखा –छहरे–गुर्जु भज्याङ सुरुङमार्ग चिनियाँ कम्पनीले गर्ने भने तापनि काम अघि बढ्न सकेको छैन’, उनले भने ‘विपी लोकमार्ग खुर्काेट–चियाबारी सुरुङमार्ग पनि जापान सरकारले अध्ययन गर्ने भने पनि कोभिड १९ को कारणले अघि बढ्न सकेको छैन।’

विभागका अनुसार ठूला प्रकृतिका सुरुङमार्गको अध्ययनको लागि १० करोडदेखि १५ करोड रूपैयाँसम्म लाग्ने गर्छ। सरकारले भने सुरुङमार्ग अध्ययनको लागि १० लाखदेखि एक करोड रूपैयाँ मात्रै विनियोजन गर्दै आइरहेको छ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणका लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए।

अर्थमन्त्री शर्माले भने प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्याएको बजेट घटाएर एक अर्ब ६ करोड रूपैयाँमा झारेका थिए। सो बेला पनि अर्थमन्त्री शर्माले आफ्ना स्वार्थ अनुकुलका चार वटा सुरुङमार्ग अध्ययन गर्ने कार्यक्रम समावेश गरेका थिए।  

२४ वटा सुरुङमार्गको अध्ययनको लागि एक अर्ब १९ करोड

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा सिद्धबाबा सुरुङमार्गको निर्माणसहित २४ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य अघि बढाउने घोषणा गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग निर्माण र अध्ययनको लागि एक अर्ब १९ करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा २४ वटा सुरुङमार्ग विकास कार्यक्रम अन्तर्गत राखिएको छ। भौतिक मन्त्रालयले आगामी आवमा सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि ७४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

लामाबगर सुरुङमार्ग अध्ययनको लागि एक करोड, धरान–लेउती सुरुङमार्गको लागि एक करोड र सुरुङमार्ग विकास कार्यक्रमको लागि सात करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। विभिन्न प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनको लागि ३ करोड, अरनिको राजमार्ग कोटेश्वर– जडिबुटीखण्ड सुरुङमार्गको लागि १० लाख बजेट विनियोजन गरेको छ।

सरकारले आगामी आवमा दुम्कीबास–बर्दघाट सुरुङमार्ग, हेम्जा–नयाँपुल सुरुङमार्ग, मझिम्तार–शक्तिखोर सुरुङमार्ग, नयाँबानेश्वरमा अन्डरपास, प्रवास–जोर्ते (पाल्पा) सडक सुरुङमार्ग, गौशाला अन्डरपास लगायतका २४ वटा सुरुङमार्ग अध्ययन गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित: १७ असार २०७९ ०५:२८ शुक्रबार

अर्थमन्त्री जनार्दन शर्मा चालु आर्थिक वर्ष सडक विभाग सुरुङमार्ग