अर्थ

वर्ल्डलिङ्कले नयाँ जीबीपीएस प्रविधिमा फाइवर टु होम नेटवर्क अपग्रेड गर्दै

वर्ल्डलिङ्क कम्युनिकेसनले नेटवर्क स्तरोन्नति गर्न गिगाबिट प्यासिभ अप्टिकल नेटवर्कको आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ। यससँगै नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनी बनेको छ।

यससँगै फाइवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिने कम्पनीले जनाएको छ। विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्क तथा १.२५ जीबीपीएस अपलिङ्क असीमित ब्याण्डविथ भएकाले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन।

अब एक्सजीएस-पोन प्रविधिबाट १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समान रूपमा दिन सकिने कम्पनीले जनाएको छ। जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्कक ब्याण्डविथको क्षमता चार गुणा बढी भएको कम्पनीले बताएको छ। निकट भविश्य एक्सजीएस-पोनलाई सफ्टवेरबाट अपग्रेड गरी २५ जी पोनको लागि पूर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ।

यसबाट अब भविष्यमा १ जीबीपीएसभन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने छ। कन्टेन्ट क्रिएटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बढी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ। 

प्रकाशित: १६ असार २०७९ ०१:४० बिहीबार

फाईवर टु होम नेटवर्क नयाँ जीबीपीएस प्रविधि