अर्थ

‘रक्सौल रेल्वेको कार्गो ढुवानीमा समस्या’

रक्सोलस्थित रेल स्टेसनमा नेपालका लागि आएका सामान यार्डबाट ओसासरिँदै। तस्विर: रितेश/ नागरिक

नेपाली आयातकर्ताले रेलमार्गबाट रक्सोलसम्म मगाउने डस्टि कार्गोका लागि अब ढुवानी सहज नहुने वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ। रक्सोलस्थित भारतीय भन्सार कार्यालयले एक पत्र जारी गर्दै जुलाई १ अर्थात आउदो शुक्रबारदेखी रक्सोल रेल यार्डमा आउने कार्गोलाई साबिक नाकाबाट नभई नयाँ नाका एकिकृत जाँच चौकी (आइसिपी) को बाटो भएर ढुवानी गर्न भनेको छ। रक्सोलस्थित भारतीय भन्सार कार्यालय कि प्रमुख रहेकी डिपुटी कमिशनर पिंकी कुमारीद्वारा हस्ताक्षरित पत्रलाई अनुसरण गर्दा रेलबाट हुने ढुवानी नेपाली आयातकर्ताले बन्द गर्नुको बिकल्प नरेहको संघका उपाध्यक्ष माधव राजपालले बताए।  

पत्रमा रक्सोल रेल्वेमा आउने कार्गो पुनः बजार हुदै फिर्ता भारततर्फ १० किलोमिटर पछाडि लगेर त्यहाँबाट बाइपास हुँदै पुनः नेपालतर्फ आइसिपी भएर आउन भनिएको छ। यसो गर्दा आधा किलोमिटरभन्दा कम दुरीमा नेपाल पस्ने कार्गो करिब १७ किलोमिटर घुमेर आउनुपर्ने हुन्छ। भारतीय रेल्वेको रेकर्ड अनुसर २४ घण्टामा करिब १३ घण्टासम्म बन्द हुने एउटा र यसको आधा जति समय बन्द हुने अर्को गरी दुई वटा रेल्वे फाटक (क्रसिङ्ग) पार गर्नु पर्ने हुन्छ। प्रयोग गर्न भनिएको बाइपास सडक भारतबाट नेपाल आउने र भारत भएर तेस्रो मुलुकबाट सडकमार्गद्वारा नेपाल आउने समान्य कार्गोले भरीभराउ हुन्छ। चार लेनको उक्त बाटोमा दिनहुँ जामको समस्या पहिलेदेखि छ। ‘रक्सौल यार्डबाट अहिले एउटा ट्रकले दिनमा ३ पटकसम्म माल समान ढुवानी गर्न पाउछ, यो पत्र लागु हुने हो भने एउटा ट्रकले एक तीन दिनमा एक खेप पुरा गर्ने छ,’ राजपालले भने, ‘यसले गर्दा ढुवानी मँहगो मात्र हुने छैन अत्याधिक ढिलो पनि हुनेछ।’  

वीरगन्ज उदोग वाणिज्य संघमा मगलबार आयोजित पत्रकार सम्मेलन। 

यसबाट बढ्ने ढुवानी लागत नेपाली आयातकर्ताले धान्न नसक्ने संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारीले बताए। पत्रमा राति ९ बजेदेखि १२ बजेसम्म ढुवानीको लागि मात्र ३ घण्टाको समय तोकिएको छ। रातिको समयमा कामदार, क्लियरिङ्ग एजेन्ट, गाडि लगायत प्रबन्ध गर्न आफैमा कति अब्यवहारिक र चुनौतिपुर्ण रहेको भन्ने कुरा बिचारणीय रहेको पटवारीले बताए। आइसिपी जोड्ने बाइपास सडकसम्म रक्सौल रेल यार्डबट निस्केर पुग्न एउटा ‘अप्रोच रोड’ बन्न लागेको छ। सघन बस्ती भएर जाने उक्त सडकमा परेउँवा हाट बजार दिनहुँ लाग्ने गरेको छ। एउटा पुल बनाउन बाकी छ। र, सडक साघुरो छ। त्यस कारणले कम्ती उक्त सडकलाई भारी मालवाहक सावरी धान्ने बनाएर यस्तो निर्णय गरेको भए पनि केही हदसम्म राहत हुने थियो भनि संघले मंगलावर आयोजन गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष राजपालले भने।  

वीरगन्जस्थित महावाणिज्य दुतावासका काउन्सुलर शशीभुषण कुमारले पत्र अनुसार जुलाई १ तारेखदेखि रक्सोल रेल यार्डमा आउने कार्गो आइसिपी भएर लैजानु पर्ने भएको बताए। ‘वीरगन्ज उद्योग बाणिज्य संघले यो अनुकुल नहुने जनाएको हामीले थाहा पाएका छौं,’ उनले नागरिकलाई भने, ‘यस बारेका माथिल्लो स्तरमा पनि पत्रचारहरु भएका छन्, अहिले त्यसमा केही थप प्रगती पनि हुन सक्छ।’ उनले अप्रोच सडक चालु गर्न केही काम बाकी रहेको भन्ने कुरा आफुहरुलाई पनि लागेको बताए।

खास गरी रक्सौल रेल यार्डबाट वीरगन्ज औद्योगिक करिडोरमा हरेका उद्योगका लागि मालसमान आयात हुने गरेको छ। त्यहाँबाट सिमेन्ट बनाउनमा लाग्ने जिप्सम तथा स्लेग, इन्धनको रुपमा प्रयोग हुने पत्थर कोइला, फलाम उद्योगको कच्चा पदार्थ आइरन ओर जस्ता औद्योगिक समान आयात हुने गरेको छ। त्यसतै नुच, चिनी, मल, अन्य औद्योगिक फलामजस्ता बस्तु पनि त्यहाँ भएर आउने गरेको छ। अन्य सामग्री वीरगन्जस्थित सुक्खा बन्दरगाह भएर भित्र्याउन बिकल्प हुन सक्छ। तर, डस्टि कार्गो भनिने जिप्सम, स्लेग, र पत्थर कोइला अयात गर्ने नेपाली औद्योगिक क्षेत्रको लागि रक्सौल रेल्वे यार्डको एक मात्र भर छ। प्रत्येक रातिमा तीन घण्टाको निर्धारित समयसीमाभित्र माल समान भित्र्याउन सम्भव नहरको आयातकर्ताको भनाई छ।  

महिनाको ३० देखी ३५ रेक माल समान त्यहाँ आउने गरेको छ। एक रेकमा औसत ३ हजार टन माल समान हुन्छ। १५ टन लोड गर्ने २ सय वटा ट्रकले एक रेक माल ढुवानी गर्ने गर्छ। महिनामा औसत भित्रिने ३५ रेक माल ढुवानी गर्न ७ हजार ट्रीपमा मात्र ट्रकले ओसोर्न सक्छ। पत्रलाई मान्दा प्रति रात ३ घण्टामा कम्तिमा २ सय ३३ वटा ट्रक रक्सोल रेलबार्डबाट निकालेर आइसिपीतर्फ पठाउनुपर्ने हुन्छ। यो सम्भव नहुन्े खालको कार्य रहेको पटवारी र राजपालले बताए। उनका अनुसार यसमा बिलम्ब शुल्कको मार पनि थपिने छ। तोकिएको समय ९ घण्टाभित्र कार्गो रेल यार्डबाट न निकाल्दा प्रति बेगन प्रति घण्टा भारतीय रुपैया एक सय ५० (रु २ सय ४० नेपाली) बिलम्ब शुल्क लाग्ने गरेको छ। एक रेकमा ५८ वटासम्म बैगन आउने गरेकोले बिलम्ब हुँदा घण्टाको भारतीय रुपैया ८ हजार ७ सय र  २४ घण्टाको २ लाख ८ हजार ८ सय अर्थात नेपाली ३ लाख ३४ हजार ८० रुपैया प्रत्येक रेकमा दिनको बिलम्ब शुल्क नतिरी हुदैन।  

‘सिधा कुरा हो रेलबाट हुने ढुवानी मुल्य, समय र ब्यवस्थापन कुनै पनि हिसाबले धान्न नसक्ने खालको छ,’ राजपालले भने, ‘अब हल्दिया बन्दरगाह, जमसेदपुर र अन्य ठाउँबाट त्यसतो कार्गो ढुवानी गर्न सडक मार्ग रोज्नुको बिकल्प रह्दैन, जुन डेढ गुना मँहगो हुनेछ।’ उनका अनुसार अहिले रक्सोल यार्ड भएर डस्टी कार्गो आयात गर्न एक हजारदेखि एक हजार ४ सय भारतीय रुपैया प्रति टन पर्ने गरेको भने सडक मार्ग अपनाउदा यो डेढ हजारदेखी साढे २ हजारसम्म पर्न जाने छ। यसरी समग्रमा यसले नेपालको निर्माण समग्री उत्पादन गर्ने उद्योगको हकमा संकट नै खडा गर्ने संघका उपाध्यक्षद्वयको भनाई थियो।

प्रकाशित: १४ असार २०७९ १३:३५ मंगलबार