अर्थ

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति जनाएको हो।

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य कटौती गरेको भए पनि हवाई इन्धनको मूल्य यथोचित राखेको छ। निगमले शनिबार राति पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा हवाई इन्धनको भने यथावत नै राखेको थियो।

अन्य पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि हवाई इन्धनको मूल्य नघटेको कारण हवाई यात्रु मर्कामा परेको बताउँदै वायुसेवा सञ्चालकहरूले निगमको निर्णयको विरोध गरेको हो। संघले यसबाट हवाई यात्रा महँगो पर्न जाने र पर्यटन क्षेत्र प्रभावित हुने उल्लेख गरेको छ।

सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा २९ रूपैयाँ मूल्य घटाएको थियो। सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्दै मूल्य घटाएको हो। 

प्रकाशित: १३ असार २०७९ ०१:३१ सोमबार

नेपाल आयल निगम वायुसेवा सञ्चालक संघ