अर्थ

कर्णाली प्रदेश बजेट: पूर्वाधार केन्द्रित

कर्णालीका स्थानीय तहहरुले सडक पूर्वाधार केन्द्रित बजेट ल्याएका छन्। ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीको विकास र समृद्धिका लागि सडक पूर्वाधार आवश्यक रहेकाले सडकलाई प्राथमिकता दिएको जनप्रतिनिधिहरुले बताएका छन्। सोही अनुसार स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएका छन्।  

कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले शहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याएको छ। वीरेन्द्रनगरले मुख्य चोकहरु मंगलगढी र एरिचोकमा आकासे पुल निर्माण र वडाको केन्द्रसम्म पक्की सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ। ‘प्रदेश राजधानी भएकाले शहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याएका छौं,’ उपमेयर निलकण्ठ खनालले भने, ‘राजधानीलाई पूर्वाधार सम्पन्न, व्यवस्थित, हरियाली र सुन्दर बनाउने योजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ।’  

१ अर्ब ९४ करोड ११ लाख १२ हजार ५०० रुपैयाँ बजेट सार्वजनिक गरेको वीरेन्द्रनगरले पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार ५००, चालूतर्फ १ अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँ बजेट ल्याएको हो।  

लेकबेशी नगरपालिकाले पनि पूर्वाधार केन्द्रित बजेट ल्याएको छ। लेकबेशीले १० वटा सडकलाई ‘गौरवका योजना’का रुपमा प्राथमिकतामा राखेर बजेट ल्याएको छ। लेकबेशीले कल्पना चोक–नेटा सडक, दशरथपुर–नेटा सडक, कोलखोला–लामीडाँडा सडक, जहरे–मिलडाँडा हुँदै दह सडक, लवना–पाखापानी–दह सडक, गंगटे–सिमदमार–रुप्से सडक, झुप्रा–साटाफाँट–टिमुरकोट सडक, गंगटे–वनकुना सडक, बडीपाटी–चौरासे–ढाँडखेत सडक, मछेलटार–लामीदमार–टिमुरकोट सडकलाई पालिका गौरवका सडकका रुपमा स्तरोन्नति गर्ने जनाएको छ।

‘सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छौं,’ नगर प्रमुख उमेश पौडेलले भने, ‘भएका सडकहरुको स्तरोन्नति र केही नयाँ सडकहरुको ट्याक खोल्ने गरेर बजेट विनियोजन गरिएको छ।’ लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख ९५७ रुपैयाँको बजेट ल्याउँदा पुँजीगततर्फ २९ करोड ९७ लाख ८८ हजार १९२ रुपैयाँ र चालूतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ बजेट ल्याएको छ।  

सुर्खेतको बराहताल गाउँपालिकाले पनि पूर्वाधार केन्द्रित बजेट ल्याएको छ। प्रदेश राजधानीको पालिका वीरेन्द्रनगरसँग जोडिएको भएपनि विकासका दृष्ट्रिले पछाडि परेको बराहतालका सबै वडा र गाउँहरुमा दुई वर्षभित्र सडक सञ्चालन पुर्‍याउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याइएको उपाध्यक्ष लक्ष्मी पुनले जानकारी दिइन्।

६२ करोड ७१ लाख आठ हजार ६२३ रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको उनले जानकारी दिइन्। बराहतालले चालूतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६२३ रुपैयाँ र पुँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरेको छ। पालिकाले सडक पूर्वाधारपछि कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ।  

दैलेखको चामुण्डा नगरपालिकाले पनि पूर्वाधार केन्द्रित बजेट ल्याएको छ। चामुण्डाले ‘दिगो विकासका लागि पूर्वाधार, कृषि, स्वास्थ्य शिक्षा र रोजगार : समृद्ध चामुण्डाविन्द्रासैनी निर्माणको मुल आधार’ नारा तय गरेर बजेट विनियोजन गरेको नगर प्रमुख गणेशकुमार शाहीले जानकारी दिए। ‘नगरपालिका भएपनि केही ठाउँमा अझै सडक पूर्वाधार छैन,’ उनले भने, ‘एक वर्षभित्र सबै बस्तीहरुमा यातायातको पहुँच पुर्‍याउने गरेर बजेट विनियोजन गरेका छौं।’  

उनले रणनीतिक महत्वका ठूला पूर्वाधारको अलावा जनताका दैनिक आवश्यकतासँग जोडिएका साना पूर्वाधारमा पनि आवश्यक बजेटको व्यवस्था गरिएको बताए। ‘सशर्त बजेटबाहेक पूर्वाधार विकासको लागि २ करोड ९८ लाख विनियोजन गरिएको छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग समन्वय गरेर सबै बस्तीहरुमा सडक पूर्वाधार र अन्य पूर्वाधार सम्पन्न नगरपालिका बनाउँछौं।’ चामुण्डा विन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४८ करोड ६९ लाख ९१ हजार बजेट ल्याएको छ।

प्रकाशित: १२ असार २०७९ ०५:५९ आइतबार