अर्थ

उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्ट आयोजना गर्दै

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले असार ११ गते शनिबारदेखि नेपाल स्टार्टअप फेस्ट आयोजना गरेको छ।

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगको रूपमा स्थापित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ।

कार्यक्रममा स्टार्टअप्सले लगानीको लागि परियोजनासहित प्रस्ताव पेस गरेको छ। स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न २७ जेठसम्मको समय अवधि तोकिएकोमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको मञ्चले बताएको छ। त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइने तथा पुँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताए।

युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवाहरूलाई थप प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए। यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई उत्साहित बनाउने परिसंघको विश्वास छ।

कार्यक्रम मार्फत करिब ५० करोड रूपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिने भएको छ। मञ्चका निवर्तमान अध्यक्ष चाङ अग्रवालले स्टार्टअपहरूलाई लगानीको लागि आवेदन माग गर्दा ३०० बढीको आवेदन परेको जानकारी गराए। काठमाडौंस्थित सोल्टी होटेलमा आयोजित कार्यक्रममा सहभागी हुन ३०० रूपैयाँको टिकट राखिएको मञ्चले जनाएको छ। 

प्रकाशित: १२ असार २०७९ ००:५० आइतबार

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च नेपाल स्टार्टअप फेस्ट