अर्थ

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने

काभ्रेपलाञ्चोकको धुलिखेल/फाइल तस्बिर।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।

आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत दीर्घरोगीलाई घरघरमा औषधि पुर्‍याउने तथा स्वास्थ्य परीक्षण व्यवस्थापन गरिने भएको छ।

स्वास्थ्य सूचना केन्द्रलाई अझ बढी प्रभावकारी बनाई स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ‘ड्यासबोर्ड’ कार्यक्रम सञ्चालन गरिने र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा नमुनायोग्य क्रियाकलाप सञ्चालन गर्ने नीति अगाडि सारिएको छ।

आत्महत्या नियन्त्रणका लागि मानसिक तथा मनोसामाजिक नीतिअनुरूप उपचारको अभियानको कार्यक्रमलाई तीव्रता दिइने, स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठन लगायत बहुक्षेत्रगत स्वास्थ्य अभियान सञ्चालन गरी बहुआयामिक र दिगो स्वास्थ्य सेवाको सुनिश्चितता गरिने, काभ्रे भञ्ज्याङमा निर्माणाधीन नगर अस्पतालको बाँकी कार्यसम्पन्न गरी चालू आवबाट सञ्चालनमा ल्याइने र अस्पतालमा सरुवा रोग तथा डाइलासिस सेवाको उपलब्धताका लागि आवश्यक व्यवस्था गरिनेछ।

नगरका उपयुक्त स्थानमा आवश्यकताअनुरूप ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र र बालबालिका हेरचाह गृह स्थापना गरिने, आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न गरी औषधालयको सेवालाई आयुर्वेद अस्पतालका रूपमा विस्तार गरिने भएको छ।

महिला स्वयंसेविका स्वास्थ्य समन्वय समितिलाई तालिम प्रदान गरी स्वास्थ्य सेवा अभिवृद्धि गरिने र नगर क्षेत्रका महामारी प्रभावित, अति अशक्त, विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गरिने छ।

त्यसैगरी शिक्षा क्षेत्रको विकासका लागि बहुप्रतिभा पहिचान तथा विद्यार्थीको चौतर्फी विकास गर्न विविध विधागत कक्षा सञ्चालनका लागि यात्री शिक्षकको व्यवस्था गरिने र उच्च शिक्षा अन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी बासिन्दालाई मासिक पढाइ शुल्क पूर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाका लागि अनुदानको व्यवस्थालाई यस वर्ष समेत निरन्तरता दिइनेछ।

सम्भाव्यता अध्ययन गरी बाबुआमाविहीन असहाय, घरेलु हिंसामा परेका गरिब बालबालिकाका लागि छात्रावासको व्यवस्था गरिने र लागत साझेदार संघसंस्था र पूर्वविद्यार्थीको समेत सहकार्यमा सञ्जीवनी माध्यमिक विद्यालयको पुरानो भवनको मोडेलमा भवन निर्माण गरी शैक्षिक संग्रहालयको स्थापना गर्न पहल गरिने छ।

त्यस्तै खेलकुदतर्फ नगरमा बसोबास गरेका जिल्ला तथा राष्ट्रियस्तरका खेलाडीको रु एक लाख बराबर रकमको दुर्घटना बीमा नगरपालिकाबाट गरिने  छ। लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणका माध्यमबाट ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभव समृद्ध नगर निर्माणका लागि उपयोग गरिनेछ।

समुदायस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य समुदायसँगको सहकार्यात्मक कार्यक्रमलाई दलित परिषद्को नेतृत्वमा निरन्तरता दिइने छ। पूर्वाधारतर्फ नगरक्षेत्रका सबै सघन बस्तीस्तरसम्म बाह्रै महिना सवारी आवागमन हुनसक्ने गरी सडक सञ्जालको निर्माण गरिने र सबै घरधुरीबाट १५ मिनेटको दुरीभित्र सडकको पहुँच विस्तार गर्ने गरी सडक रेखांकन गरिने छ।

साहसिक खेललाई प्रोत्साहन तथा प्रवद्र्धनका लागि सरोकारवालाको सहकार्यमा नगरको देविटारमा माउण्टेन स्पोर्टस् तालिम केन्द्र निर्माणको आवश्यक अध्ययन गरिने भएको छ। त्यसैगरी पर्यटन विकासतर्फ देवीस्थान पार्कको बाँकी काम पूर्ण रूपमा सम्पन्न गरी नमुना पार्कका रूपमा विकास गरिने र उक्त पार्कमा निर्मित भवनमा जातजातिको पहिचान झल्कने वेशभूषा तथा परम्परागत सामग्रीको प्रदर्शनीस्थल राख्ने व्यवस्था मिलाइने छ।

कृषि क्षेत्रको विकासका लागि बैंकसँगको समन्वयमा कृषि कार्डमार्फत विनाघितो कृषि ऋण उपलब्ध गराउन समन्वय गरिने र सोबमोजिम प्रवाह गरिने ऋणमा लाग्ने व्याजमा आवश्यक अध्ययन गरी अनुदानको व्यवस्था गरिने, कृषि र पशु प्राविधिकको दक्षता अभिवृद्धि गरी प्रविधिको प्रयोगमार्फत किसानलाई कार्यस्थलमा नै तत्काल सेवा प्रवाह गर्ने प्रबन्ध गरिने योजना अघि सारेको छ।

नगरपालिकाले पशु विकासतर्फ नगरलाई दूध र मासु तथा फुलमा आत्मानिर्भर बनाउन उपयुक्त भूगोललाई गाईभैंसी र बाख्रा, कुखुरा पकेट क्षेत्रका रूपमा विकास गरिने छ। शुक्रबार सम्पन्न नगरसभाको एघारौं अधिवेशनबाट नगरपालिकाले एक अर्ब ३५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। सोअन्तर्गत चालुतर्फ रु ६४ करोड तीन लाख आठ हजार छ भने पुँजीगततर्फ रु ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ ४० लाख रहेको छ।

प्रकाशित: ११ असार २०७९ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App