अर्थ

हंसपुर नगरपालिकाको बजेट ५३ करोड ८५ लाख २२ हजार

धनुषाको हंसपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५३ करोड ८५ लाख २२ हजार रूपैयाँ बजेट ल्याएको छ। १० औं नगरसभाबाट आगामी नीति तथा कार्यक्रम सर्वजानिक गरेको हो।

शुक्रबार मेयर प्रदिप यादवले प्रस्तुत गरेको उक्त बजेटमा संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान १३ करोड ३० लाख, सशर्त अनुदान २१ करोड ८४ लाख, चालू खर्च (राजस्व बाँडफाँट) ९ करोड ७२ लाख ३० हजार रुपैयाँ प्राप्त भएको छ। त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ८५ लाख ९२ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख र चालू खर्चको राजस्व बाँडफाँट ८३ लाख प्राप्त भएको छ। नगरपालिकाको आन्तरिक श्रोतबाट १ करोड रहेको छ। बैंक मोज्दात ५ करोड रहेको छ।

प्रस्तुत गरेको बजेटमा खर्च विवरण भने छुट्टयाइएको छैन। 'स्थानीय तहले आर्थिक वर्षको असार १० गते नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेछ, मेयर यादवले भने,'हामीले समय अभावको कारण खर्च विवरण छुट्टयाउन सकेनौं। आगामी नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका हौं। बजेत त ल्यायाैं अब कहाँ कति रकम राख्ने सभाका सदस्यहरु बीच राख्छौ। २५ गते भित्रै त्यो पनि तय हुन्छ।'

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। नागरिकको मौलिक हकको रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, २२ करोडको लागतमा १० सैयाको अस्पताल निर्माण कार्य सुरु गर्ने, बर्थिङ्ग सेन्टर संचालन गराउने, र विरामीलाई अस्पतालसम्म सहज पहुँचको लागि एम्बुलेन्स खरिद गरिने नीति तथा कार्यक्रममा राखिएको छ।

कृषिमा निर्भर रहेका नगरवासीहरुलाई आत्मनिर्भर बनाउनको लागि आवश्यक रहेका सिँचाइ, कृषि सडक, कृषि बिजुली, मलखाद्य उन्नत बिउँ विजन उपलब्ध गराउने छ। किसानहरुको लागि बाली विमाको ब्यवस्था मिलाइने छ। वैज्ञानिक खेतीका लागि आवश्यक पर्ने यन्त्रहरु एवं कृषिमा शिक्षाको प्रशिक्षणको ब्यवस्था गरिनेछ। कृषि आधुनिकीकरण नीति अवलम्बन गर्न आवश्यक कार्यक्रमहरु ल्याइने छ। कृषिलाई औद्योगीकरण एवं व्यवसायीकरण तर्फ लैजानका पशु पालनको आर्थिक अनुदान दिइने छ।

आगामी आर्थिक वर्षमा नगरभित्र प्रत्येक टोलको मुख्य पक्की सडक बनाइने छ। एक गाउँदेखि अर्को गाउँसम्मको रहेको सडकलाई स्तर उन्नति गरिनेछ। साथै आवश्यकता अनुसार नयाँ सडक निर्माण एव मर्मत सम्भार गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

हाल कायम रहेको वडाहरुलाई भौगोलिक तथा जनसङ्ख्याको अधारमा वडाको संङ्ख्या निर्धारण गराइ दिन सम्बधित निकायमा पहल गर्ने नीति तथा कार्यक्रममा भनिएको छ। हाल कायम रहेको वडा नम्बर २,३,४,५ लाई टुक्रा गरी दुईवटा वडा बनाउने अगामी नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ।

प्रकाशित: ११ असार २०७९ ०६:०७ शनिबार