विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न दशौं नगरसभामा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन्।
बजेट प्रस्तुत गर्दै कार्कीले कुल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्। यस्तै पूर्वाधार विकास क्षेत्रतर्फ, १ अर्ब ८९ करोड ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छ। आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातावरण तथा विजपद् व्यवस्थापन तर्फ ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक वर्ष ०७९/८०मा सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरिय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगर स्तरिय आयोजनाका लागि ३० करोड रुपैयाँ महानगरपालिकाले विनियोजन गरेको छ। बहु वर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत आयोजनाको भुक्तानीकक लागि ४० करोड, सडक मर्मत सम्भार १४ करोड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख विनियोजन गरेको छ। फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरका कोषका लागि ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख कार्कीले जानकारी दिइन्।
खर्च वेहोर्नेस्रोतमा संघीय सरकार अन्तर।वित्तीय हस्तान्तरणतर्फबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारतर्फबाट ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यस्तै विराटनगर महानगरपालिकाले आन्तरिक आय १ अर्ब हुने अनुमान गरेको छ। जनसहभागिताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र अन्य संघ संस्थाबाट ३ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८०को बजेटमा कृषि क्षेत्रमा किसानलाई प्राङ्गारिक मलमा अकर्षण गर्ने, माटो सुधार गर्ने, धान, गहुँ र मकैको गुणस्तरिय वीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने, शहरी कृषि, कोसी तरकारी खेती, करेसावारी र प्ष्पखेति कार्यक्रम प्रबद्र्धन गर्ने नीतिगत व्यवस्था गरेको छ। यस्तै बाली उपचार शिवीर, वेमौसमी तरकारी खेति प्रबद्र्धनकार्यक्रम लगायतलाई प्राथमिकतामा राखेको छ। यस्तै छोरी बचाउ, छोरी पढाउ कार्यक्रमलाई निरन्तरतादिने, गर्भवती, सुत्केरी महिला, अपाङ्ग तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ।
महानगरपालिका क्षेत्रमा मेट्रो सिटी अस्पताल निर्माण गर्ने र ६५ वर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरिएको छ। विराटनगर महानगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिने नीतिगत व्यवस्था गरेको छ। भौतिक विकास तर्फ सुकुम्वासी र विपन्न समुदायलाई लक्षित गरी सञ्चालनमा रहेको महानगर आवास कार्यक्रमलाई बजेटले विशेष प्राथमिकतामा राखेको छ। एक वडा एक पार्क, सार्वजनिक शौचालय, पार्किङ र स्मार्ट पार्किङको व्यवस्था, ल्याण्डपुलिङ मार्फत व्यवस्थित र नयाँ शहर निर्माणलाई बजेटले समेटेको छ।
अन्तराष्ट्रिय रंगशाला , स्मार्टसिटी जस्ता आयोजनालाई विकास साझेदारहरूको सहयोगमा अघि बढाउने, विराटगरलाई गर्व गर्नलायक प्रादेशिक राजधानीका रुपमा अघि बढाउने योजना पनि महानगरपालिकाले अघि सारेको छ। निर्माण सम्पन्न भएका विकास परियोजनाहरूको मर्मत सम्हार, जापान सरकारको सहयोगमा खानेपानी सुधार परियोजना सञ्चालनलाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ। यस्तै महानगरपालिकाले अनलाईन मार्फत कार्यस्थलबाटै घर तथा व्यवसाय कर तिर्ने व्यवस्था गर्ने पनि नीतिगत व्यवस्था गरेको छ।
प्रकाशित: १० असार २०७९ ११:४४ शुक्रबार