अर्थ

नेप्सेमा ४५ बिन्दुको गिरावट, कारोबार रकम डेढ अर्ब

सेयर खरिदमा लगानीकर्ताले चासो नदेखाएपछि बिहीबार नेप्से परिसूचक ४५ बिन्दुले घटेको छ।

यो साताका सुरुका दुई दिनमा ८६ बिन्दुले गिरावट आएको नेप्से मंगलबार ३९ बिन्दुले बढेकोे थियो। यस्तै बुधबार ३१ र बिहीबार ४५ बिन्दुले नेप्से परिसूचक घटेको छ। यो तथ्यांक अनुसार साताका ५ कार्य दिनसम्ममा नेप्से एक सय २३ बिन्दुले घट्न पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ४५.२५ घटेर नेप्से परिसूचक १८४८.२८ बिन्दुमा झरेको छ। यो २.३९ प्रतिशतको गिरावट हो।

एक्सचेञ्जका अनुसार बिहीबार १८८९ बिन्दुबाट सुरु भएको कारोबार दिनभर जसो गिरावट आइरहेको थियो। दिनभरमा नेप्से अधिकतम १८८९ र र न्यूनतम १८३६ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा भने नेप्से १८८९ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार बिहीबार नेप्से बाहेक तीन प्रमुख सूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा गिरावट आएको छ। सेन्सेटिभ ७, फ्लोट ३ एंव सेन्सेटिभ फ्लोट २ प्रतिशतभन्दा धेरै बिन्दुले घटेका छन्।

सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबारमा गिरावट आएको छ। यी उपसूचकहरू मध्ये २ सयभन्दा बढीले एउटा र एक सयभन्दा धेरैले ३ वटा कम्पनीको कारोबारमा गिरावट आएको छ। सबैभन्दा धेरै निर्जीवन उपसूचक २१८ बिन्दुले घटेको छ भने जीवन बिमा १४३, विकास बैंक ११९ र लघुवित्त १०२ बिन्दुले घटेका हुन्।

यस्तै उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, जलविद्युत् लगायतका उपसूचकहरू ५० बिन्दुभन्दा बढीले घटेका छन्। कारोबारमा सबैभन्दा कम बिन्दुले गिरावट आउनेमा सामूहिक लगानी कोष परेको छ भने बैंकिङ उपसमूह २१ बिन्दुले घटेको छ।

एक्सचेञ्जका अनुसार बिहीबारको कारोबारमा १५ वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने १७८ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै २ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये आँधिखोला लघुवित्तको सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढेको छ। यसको १० प्रतिशतले सेयर मूल्य बढेको हो। यस्तै सीवाईसी नेपाल लघुवित्तको सेयर पनि ९.९९ प्रतिशतले बढेको छ।

यस्तै कारोबार भएका कम्पनीमध्ये प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा सिभ श्री हाइड्रोपावर परेको छ। यसको प्रतिसेयर मूल्य ९.५६ प्रतिशतले घटेको हो। यस्तै लिवर्टी इनर्जीको पनि प्रतिसेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ। यस्तै ४ वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ।

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ। यसको ९ करोड ५३ लाख १२ हजार रूपैयाँको कारोबार भएको हो। यस्तै लक्ष्मी बैंकको ६ करोड ६७ लाख र नविल बैंकको ५ करोड ५३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर कुमारी बैंकको भएको छ। यसका ४ लाख ८८ हजार १ सय ९५ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै लक्ष्मी बैंकका ३ लाख २२ हजार र एनसीसी बैंकको १ लाख ५६ हजार कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार बिहीबार २३७ कम्पनीका ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि एक अर्ब ४९ करोड ९७ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २६ खर्ब ३६ अर्ब रूपैयाँमा आएको छ।  

प्रकाशित: १० असार २०७९ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App