अर्थ

आन्तरिक उडान नियमितरुपमा सञ्चालन गर्न सहमत

आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन्। आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो।

आन्तरिक उडानका एयरलाइन्सले आज बिहानैदेखि उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहानैदेखि नियमित उडान भइरहेको जानकारी दिए।

बुद्ध एयरले बिहान ११ बजेदेखि आन्तरिक उडान नियमित सञ्चालन गर्ने कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। बुद्धएयरले हिजै आफ्नो नियमित उडान गर्ने निर्णय गरेको थियो। बुद्धबाहेकका अन्य एयरलाइन्सले वार्तापछि उडान सञ्चालन गर्न सहमत भएका थिए।

सरकार र वायुसेवा सञ्चालक सङ्घबीच गए राति भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। अन्य मागका सम्बन्मा आज पुनः वार्ता गरेर टुङ्गोमा पुग्ने जनाइएको छ।

प्रधानमन्त्री कार्यालयको पहलमा गृह मन्त्रालय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारी र सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापालगायतको वायुसेवा सञ्चालकहरूको टोलीबीच गए राति वार्ता भएको थियो।

आज मध्याह्न पुनः वार्तामा बसी अन्य मागका विषयमा टुङगो लगाइने बताइएको छ। प्राधिकरणले यही असार ५ गते गरेको निर्णय फिर्तालिनुपर्ने माग गर्दै सङ्घले पत्रकार सम्मेलन गरेर उडान बन्द गर्ने चेतावनी दिएको थियो।

लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरेर अत्यावश्यक हवाई सेवा बन्द नगर्न चेतावनी दिँदै उडान बन्द गरेर जनतालाई समस्यामा पारे प्राधिकरण चुप लागेर नबस्ने स्पष्ट पारेको थियो।

प्रकाशित: ८ असार २०७९ ०२:४२ बुधबार

आन्तरिक उडान नियमित एयरलाइन्स कम्पनी आन्तरिक उडानका एयरलाइन्स अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय