अर्थ

अकबरे किसानलाई ‘फंगीसाइड र ढुसीको’ पिर

पाँचथरको चिलिङदिनमा अकबरे खोर्सानीबारी गोड्दै किसान। तस्विर: गिरिराज/नागरिक

फाल्गुनन्द गाँउपालिका–४ चिलिङदिनका किसानहरु यतिखेर पहिलो छिमलको अकबरे खुर्सानी टिप्न र गोडमेल गर्न व्यस्थ रहेका छन्। धान रोप्ने चटारो एकातिर छ भने मुख्य आम्दानीको श्रोतको रुपमा अकबरे खुर्सानी भएकाले किसानको ध्यान यतातिर धेरै छ।

साविकको चिलिङदिन गाविसको वार्ड नं.– ४ बाहेकका गाँउका प्रायः घरमा अकबरे खुर्सानी खेती गरिएको छ। लहलह भएको खुर्सानीलाई हरेक बर्ष फंगीसाइड, ढुसी, जरा तथा डाँठ कुहिने समस्याले सताउने गरेको किसानहरु बताँउछन्।  

‘केही वर्षदेखि खुर्सानीमा यस्तो समस्या देखिन थालेको छ। फंगीसाइड  र ढुसीले वर्षेनी समस्या पार्ने गरेको छ। 'जरा समेत कुहिने गर्छ। के भएर यस्तो हुने गर्छ थाहा पाउन सकिएको छैन्’ अगुवा किसान टिका नेम्बाङले भने, ‘खुर्सानीको हेरीरहुँ लाग्ने बोट सर्लक्क सुक्ने गर्छ।’

उनका अनुसार गाँउका प्रायः घरमा अकबरे खुर्सानी खेती हुने गरेको छ। किसानहरुले मकै, धान खेतीलाई घटाएर अकबरे खेतीलाई रोजेका छन्। यहाँ उत्पादन भएको अकबरेलाई राम्रो मानिने गरिन्छ। यतिखेर पहिलो छिमलको अकबरे प्रतिकेजी ४ सयसम्ममा बिक्री हुने गरेको किसान बताउँछन्। साउनमा यहाँका बारीहरु अकबरे फलेर रातै देखिन्छन्।

किसानको आम्दानीको मुख्य श्रोत अकबरे खेती नै हो। यहाँकी किसान मन्जु शिवालाई अघिल्लो सालको जस्तै रोगले सताउने हो कि भन्ने पिर छ। शिवाका अनुसार गतवर्ष खुर्सानी टिप्ने बेलामा बोटनै सुकेर गयो। जरादेखि बोट मरेर आएपछि त्यति आम्दानी हुन सकेन। ‘३२ हजारको मात्र बेच्न पाए। लाख भन्दा बढीको बिक्ने थियो, रोगले खत्तम गर्यो’ उनले भनिन्, ‘यो साल खेती बढाएको छु। रोग नलागे त राम्रै कमाई हुन्थ्यो।’

अकबरे खुर्सानी चाउचाउ लगायतका उद्योगले गाँउमै आएर किन्छन्। यहाँ उत्पादन गरिएको खुर्सानी आर्गानिक भएको नेम्बाङ बताउँछन्। ‘गाईवस्तुकै मल प्रयोग गर्ने गरेका छौँ’ उनले भने, ‘विरुवा पनि गाँउमै उत्पादन गर्छौं।’

त्यसोत चिलिङदिन अकबरे खेतीका लागि प्रसिद्ध छ। यहाँको अकबरे खुसार्नीको धेरैले प्रसंसा गर्ने गर्छन्। चिलिङदिन अकबरेको पकेट क्षेत्र पनि मानिन्छ। प्रायः घरमा अकबरे खती लगाएको भेटिन्छ।  ‘धान भन्दा फाइदा हुने देखेर खेतमै खुर्सानी खेती लगाईदिएँ’ खुर्सानी गोड्दै गर्दा भेटिएका किसान  विक्रिम नेम्बाङले भने, ‘खानलाई नभई बेच्नलाई खोर्सनी खेती गरेको दुई साल भयो। रोगहरु लाग्छ भन्छन्, नत्र त बोट हेर्दा राम्रै फल्छ जस्तो छ।’

चिलिङदिनका किसानहरु मेहनती देखिएका छन्। धेरै मेहनत अकबरे खुर्सानीनी खेतीमा भएको देखिन्छ। ‘चिलिङदिनको अकबरे खुर्सानी खेतीसँगै सिङ्गो गाँउपालीकामा कृषिलाई प्राथमिकतामा राखेका छौँ। आन्तरीक आम्दानी वृद्धि गर्नलाई कृषि क्षेत्रमा पर्याप्त योजना तथा बजेट व्यवस्थापन गर्ने छौँ’ गाँउपालीका अध्यक्ष वृजहाङ आङदेम्बेले भने, ‘कृषि क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै उत्पादन वृद्धि गर्ने योजना अघि बढाउने छौँ।,’

प्रकाशित: ७ असार २०७९ ११:३५ मंगलबार