पोखरामा चल्तिको अवस्थामा एउटा मात्र पाँचतारे होटल छ, त्यो हो पोखरा ग्राण्ड। केही वर्षअघिसम्म फूलबारी रिसोर्टसमेत गर्दा पाँचतारे होटलको संख्या दुई थियो। पाँचतारे डिलक्स फूलबारी रिसोर्ट बन्द भएपछि पोखरा ग्राण्ड पाँचतारे ‘वर्ग’मा एक्लिएको छ। यो अवधिमा पर्यटन क्षेत्रमा ठूलो लगानी थपियो, लगानी अझै पनि निरन्तर छ। तर त्यो सबै लगानी फूलबारी आकारको संरचनाका लागि थिएन र हुन सकेन।
वर्षौंदेखि बन्द रहेको फूलबारी होटल कस्तो थियो त ? सञ्चालक पियुषबहादुर अमात्यले नेपालले पहिलोपटक नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सन् १९९८ मा पोखरामा ‘वान अफ् दी ग्रेटेस्ट होटल इन द वल्र्ड’ थिममा फूलबारी खोलेका थिए। सन् १९९८ देखि सञ्चालनमा आएको यो रिसोर्टमा त्यो बेला नै करिब तीन अर्ब रूपैयाँ लगानी भएको थियो।
१ सय ६५ कोठा रहेको रिसोर्टमा सबैभन्दा कम १ सय र सर्वाधिक ३ सय अमेरिकी डलर एकरातको शुल्क पर्दथ्यो। २ सय ९ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टसँग १ सय ४० रोपनी क्षेत्रफलको गल्फ मैदानसमेत थियो। पोखरेली व्यवसायीका बिचारमा पर्यटन क्षेत्रमा यति भव्य र सुविधासम्पन्न पूर्वाधार अब हत्तपत्ति बन्ने छैन। किनकी फूलबारीको जति लगानी अन्यत्र पनि हुनसक्छ, तर, त्यो आकारको क्षेत्रफलमा यस्तो रिसोर्ट पोखरा आसपासमा बन्ने सम्भावना देखिन्न।
फूलबारीले ओगटेको जति क्षेत्रफलमा अब कसैले संरचना फिजाँउन सक्दैन। किनकी त्यसका लागि पर्याप्त जग्गा खरिद गरेर लगानी थप्ने अवस्था अहिले छैन। जग्गाको भाउले आकाश छुँदा यत्ति धेरै क्षेत्रफल कसैले किन्न सक्ने आँट नराख्ने व्यवसायी बताउँछन्।
सञ्चालक अमात्यको थीम र पोखरेली व्यवसायीले भने झैं फूलबारी साच्चैको भव्य सम्पत्ति थियो। तर, यो फूलबारी अब सहजै फस्टाउने देखिन्न। किनकी होटल बनाउँदा लिएको ऋण तिर्न नसकेपछि यो रिसोर्ट लिलामी हुने भएको छ। साँबा र ब्याजसहित रिसोर्टको ऋणको आकार अहिले करिब २० अर्ब रूपैयाँ पुगिसकेको वित्तीय संस्थाले बताउँदै आएका छन्।
होटलले २०५५ मा एक अर्ब ३१ करोड रूपैयाँ बैंकबाट ऋण लिएको थियो। फूलबारीमा नेपाल बैंकको नेतृत्वमा चारवटा वित्तीय संस्थाले लगानी गरेका थिए। २०७४ भदौ २७ मा अन्तिम पटक एकैपटक ११७ जना कर्मचारीलाई बिदाई गर्दै रिसोर्टमा ताला लागेको थियो। त्यो ताला अझै खुल्न सकेको छैन।
राजनीतिको चपेटामा परेको फूलबारी
महंगो रकम खर्चन सक्ने पाहुना भित्र्याएर नेपालमा ‘क्वालिटी टुरिजम’ को जग बसाल्न फूलबारीको भूमिका छ। तर पनि सशस्त्र द्वन्द्वका कारण रिसोर्टले लामो समय आफूलाई अब्बल राख्न सकेन। रिसोर्टले गति लिइरहँदा माओवादी द्वन्द्वको चपेटामा परेपछि सञ्चालक अमात्यले राजनीतिक कारण देखाउँदै बैंकको ऋण तिर्न छाडेका थिए। त्यसपछि रिसोर्टको ओरालो यात्रा सुरु भएको रिसोर्टमा लामो समय काम गरेका कर्मचारी बताउँछन्। ती कर्मचारीका बुझाइमा द्वन्द्वसहित अरू केही घटनाक्रमले फूलबारी रिसोर्टलाई फस्टाउने मौका दिएन।
द्वन्द्व समाधान भएपछि विभिन्न राजनीतिक दलका मजदुर संगठनले माग राख्दै आन्दोलन थाले। बारम्बार मजदुर आन्दोलन भइरह्यो। त्यो आन्दोलन एकदिनका लागि मात्र नभई हप्तौ वा महिनौसम्म चल्थ्यो। ‘आन्दोलनको अप्ठेरो यतिसम्म पर्यो की तोकिएको कार्यक्रम गर्न नसकेर रातारात अन्यत्र सार्नुपरेको थियो,’ फूलबारीमा काम गरेका एकजना पूर्व कर्मचारी भन्छन, ‘मजदुरको असहयोगले पनि एउटा महत्वपूर्ण सम्पत्ति गुमनान बन्नु पर्यो।’
ती पूर्व कर्मचारीका अनुसार मजदुर आन्दोलनले महिनौ बन्द हुँदा रिसोर्टले उकासिने मौका नै पाएन। जबकी एकैदिन पाँचसय जना पाहुनालाई पनि यसले सेवा दिएको थियो। बेलाबखत खुल्दै बन्द हुँदै आएको यो रिसोर्टमा यतिसम्म महंगा पाहुना बास बस्न आउँथे की हेलिकप्टर चार्टर गरेर एकसाता बिताउने गरि विदेशी आउने गरेका थिए। चार्टर गरेको हेलिकोप्टर रिसोर्ट परिसरमै बिसाएर बिहानबिहान स्की खेल्न हिमाली क्षेत्रमा आउजाउ गर्दथे। ‘त्यसरी आउने महंगा पर्यटक अहिले पोखरामा भित्रिन छाडे,’ उनले भने।
सशस्त्र द्वन्द्व चर्किदै जानु, काठमाडौंबाट भारतको दिल्लीका लागि उडेको जहाज अपहरणमा पर्नु, दरबार हत्याकाण्ड हुनु जस्ता घटनाक्रमले पनि फूलबारीले महँगा पाहुना गुमाउँदै गएको ती कर्मचारी बताउँछन्। ती कर्मचारी भन्छन, ‘तर, रिसोर्ट पूर्ण रूपमा बन्द हुनुमा मुख्य दोष भने मजदुरलाई मात्र जाने गरेको छ। मजदुर आन्दोलन पनि एउटा कारण त हो, तर, अरू घटनाक्रमले पनि रिसोर्टलाई ओरालो गतिमा झार्न सघायो।’
सञ्चालक अमात्यको महत्वाकांक्षा
फूलबारीका संचालक अमात्यले सुरुमा फूलबारीलाई बैंककको चेन होटल व्यवस्थापन समूह दुसित थानी इन्टरनेशनललाई व्यवस्थापनको जिम्मा दिएका थिए। दुसित थानीले व्यवस्थापनको जिम्मा पाएपछि ‘दुसित थानी फूलबारी रिसोर्ट एण्ड स्पा’ का नाममा यसलाई व्यवस्थापन गरेको थियो। तर पछि दुसित थानी फिर्ता भएपछि फूलबारीलाई सकस पर्न थालेको थियो।
फूलबारीका सञ्चालक अमात्य दरवार निकट निकट पनि थिए। त्यसैले त राजा वीरेन्द्रका परिवार नै बेलाबेला फूलबारीमा बस्ने गरेका थिए। दुसित थानीलाई बिदाई गरेर दरबारको लगानी भित्र्याउन खोजेको भनेर त्यो बेला चर्चासमेत हुने गरेको थियो। अमात्य दरबारसँग कति निकट थिए भन्ने त त्यहाँ बनाउँदै गरेको एउटा संरचनाले देखाउने ती कर्मचारी बताउँछन्। दरवार हत्याकाण्ड भएपछि फूलबारीभित्र बनाउन थालिएको त्यो संरचना अलपत्र परेको थियो।
‘तत्कालीन राजा वीरेन्द्रलाई लक्षित गरेर फूलबारीभित्रै ‘रोयल सुइट’ को सुविधासम्पन्न संरचना बनाउन थालिएको थियो। तर, दरबार हत्याकाण्डपछि त्यो संरचना अलपत्र पर्यो। बन्दै गरेको रोयल सुइट यत्तिकै रोकियो,’ उनले भने, ‘दरबारसँग सम्बन्ध बढेपछि दुसित थानी पनि बाहिरियो। दरबारले नै लगानी गर्न खोजेको भन्ने हल्ला पनि चलाइयो। दरबारका सदस्यले केही व्यवसायीलाई रिसोर्टमा ल्याएर घुमाएका पनि थिए। तर, त्यो अघि बढ्न सकेन।’ ती कर्मचारीका बुझाईमा सञ्चालक अमात्यमा महत्वकांक्षा यति धेरै थियो की दक्षिण एसियाली मुलुकमै ठूलो र सुविधासम्पन्न रिसोर्ट बनाएको घमण्ड थियो। त्यसबाहेक दरवारसँग निकट हुँदा पनि महत्वकांक्षा बढाउन बल पुगेको थियो।
सञ्चालक अमात्यले फूलबारी रिसोर्ट द्वन्द्वकालमा सञ्चालन गरेको भन्दै सरकारले मूल्य अभिवृद्धि कर र राजस्व करमा छुट दिनुपर्ने माग गर्दै २०७३ साल मंसिर २१ गते रिट निवेदन दायर गरेका थिए। तर तत्कालिन न्यायाधीशद्वय गोपाल पराजुली र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७४ पुस १६ मा राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर र राजस्व करमा छुट दिन नसकिने फैसला सुनाएको थियो। यो रिसोर्टले सरकारलाई समेत तीन अर्ब रूपैयाँ कर तिर्न बाँकी रहेको छ।
सरकारले सन् २०२० मा पर्यटन वर्ष मनाउँने तयारी गर्दै गर्दा बन्द रहेको फूलबारीलाई अन्तर्राष्ट्रिय चेन होटल मेरियट ग्रुपले व्यवस्थापन लिने गरि तयारी भए पनि ऋणको किचलोले काम रोकिएको थियो। मेरियट अघि नै २०७० मै भारतको क्लार्कस कलेक्सनले फूलबारी सञ्चालनको व्यवस्थापन जिम्मा लिएर सञ्चालन गर्ने प्रयास थालिएपनि त्यसले पनि निरन्तरता पाएको थियो। रिसोर्ट १५ वर्षका लागि भारतीय व्यवस्थापनको जिम्मामा दिएपनि त्यो समुहले पनि बीचमै छाडेर गएको थियो।
पोखराले गुमाएको महत्वपूर्ण सम्पत्ति
फूलबारीमा कार्यरत पूर्व कर्मचारीका अनुसार रिसोर्टका संरचना साच्चै तारिफयोग्य छन्। कतिपय विदेशीले रिसोर्टको पूर्वाधार एकजना व्यक्तिको भन्दा पत्याउँदैनथे। यत्तिको संरचना एकजना व्यक्तिले संचालन गर्न असम्भव हुने ती विदेशीको भनाइ हुने गरेको थियो। संरचना मात्र नभई त्यहाँ कार्यरत कर्मचारीप्रतिको विश्वास पनि उत्तिकै थियो। फूलबारी छाडेर जाने कर्मचारीले कतै अन्तर्वार्ता नदिई जागिर पाउँथे।
‘मजदुर, आन्दोलन, सञ्चालकमा महत्वाकांक्षा, सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड लगायतले फूलबारीलाई छोटो समयमा गिराउन सफल भयो,’ ती कर्मचारी भन्छन, ‘मजदुर आन्दोलन नहुँदो हो त रिसोर्ट चलिरहन सक्थ्यो, तर, पुरानोस्वरूपको पाहुना नपाएपनि अरू झै रिसोर्ट खुलिरहन्यो, बन्द भने हुँदैनथ्यो। मजदुर आन्दोलन बन्द गर्नमा मुख्य कारक हो। अरू घटनाक्रम सहयोगी बनेका हुन्।’
पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा पनि फूलबारी आकारको पूर्वाधार अब पोखरामा बन्ने अवस्था नरहेको बताउँछन्। ‘अब बन्ने कुनैपनि होटल फूलबारी भन्दा थप सुविधासम्पन्न हुनसक्छन, तर, फूलबारीले चर्चेको जति क्षेत्रफलमा ठूलो लगानी गरेर होटल बन्ने अवस्था देखिन्न,’ सापकोटा भन्छन्, ‘जग्गाको भाउले आकाश छोएको बेला त्यत्ति धेरै क्षेत्रफलमा पोखरा आसपासमा होटल बन्न सक्दैन। लगानी गर्ने अवस्था पनि अहिले छैन।’
पोखराको फूलबारी पोखरेलीको मात्र नभई मुलुककै गज्जबको सम्पत्ति भएको पनि सापकोटा बताउँछन्। ‘फूलबारी बन्द भएपछि दोस्रो पाँचतारे होटल थपिन सकेको छैन। व्यवसायीले पनि तत्काल लगानी गर्न आँट गरेका छैनन्,’ उनले भने, ‘फूलबारी त उठ्न सकेन भने अरूको हालत के होला भनेर पनि व्यवसायी केही हच्केका हुन्।’
पोखराको मात्र नभई मुलुककै पर्यटनको अब्बल सम्पत्तिको रूपमा फूलबारी रहेको उनले बताए। ‘निजी क्षेत्रको सुविधासम्पन्न र खर्चालु पाहुनाका लागि लक्षित थियो। फूलबारी बन्द भयो, तर अरू थपिएनन्। यसलाई देखेर पनि अरू त्रसित भएका हुन सक्छन्,’ सापकोटा भन्छन्, ‘पोखराले सबैभन्दा ठूलो सम्पत्ति गुमाएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीको यत्तिको रिसोर्ट बनाउन सानोतिनो लगानीले हुँदैन।’
प्रकाशित: ६ असार २०७९ ०३:३४ सोमबार