अर्थ

स्वास्थ्य चौकी भवन निर्माणका लागि लाखौँको जमिन निःशुल्क दान

फाइल तस्बिर।

रौतहटको माधव नारायण नगरपालिकामा एक जनाले वडामा स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराएका छन्। आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि माधव नारायण नगरपालिका ८ मा एक महिलाले लाखौँ मूल्य पर्ने जमिन उपलब्ध गराएकी छन्।

स्थानीय चन्द्रिका देवीले लाखौँ मूल्य पर्ने एक कट्ठा एक धुर जमिन निशुल्क उपलब्ध गराएकी हुन्। वडाध्यक्ष योगेन्द्रप्रसाद महतो तथा समाजसेवी पृथ्वी यादवको विशेष पहलमा चन्द्रिका देवीले स्वास्थ्य चौकी भवन निर्माणका लागि जमिन उपलब्ध गराएकी हुन्।

भवनको लागि जमिन उपलब्ध भइसकेको र कानुनी प्रक्रिया पूरा गरी संस्थाको नाममा जमिन पास भइसकेकोले आउँदो आर्थिक वर्षभित्रै स्वास्थ्य चौकी भवन निर्माण भइसक्ने वडाध्यक्ष महतोले प्रतिबद्धता व्यक्त गरेका छन्। अब केही दिनमै हुने नगरको बजेट अधिवेशनमा स्वास्थ्य चौकी भवनको लागि बजेट विनियोजन गर्ने तयारी भइरहेको वडाध्यक्ष महतोको भनाइ छ।

प्रकाशित: ४ असार २०७९ १२:५० शनिबार

रौतहटको माधव नारायण नगरपालिका स्थानीय चन्द्रिका देवी