अर्थ

सिए होइन सिएफओले चलाए केन्द्रीय बजेट

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफूले विज्ञका रूपमा सहयोग लिएका व्यक्तिलाई सिए भनेर चिनाएका थिए। तर ती व्यक्ति सिए नभएर अरू कोही भएको खुलेको छ।

यही जेठ १४ गते राति बजेटमा राजस्वका दर परिवर्तन गर्न अर्थमन्त्री शर्माले विज्ञका रूपमा अर्थ मन्त्रालयमा लगेका सिए भन्ने व्यक्ति नेपालका एक प्रतिष्ठित व्यावसायिक घरानाका चिफ फाइनान्स अफिसर (सिएफओ) भएको खुलेको हो।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार अर्थमन्त्री शर्माले सिए भनेर चिनाए पनि ती फाइनान्स हेर्ने व्यक्ति थिए। ती व्यक्तिले मन्त्रालयमा अंग्रेजीभन्दा अर्को कुनै भाषा प्रयोग गरेका थिएनन्। मन्त्रालय स्रोतका अनुसार ती व्यक्तिले विद्युतीय सवारीसाधन र पाम आयलमा लाग्दै आएको करका दर परिवर्तनमा विशेष चासो दिएका थिए।

अरू दर्जन करको दर परिवर्तन भने पूर्वनायब सुब्बा रघुनाथ घिमिरेले गरेका थिए। घिमिरे अहिले व्यावसायिक घरानाहरूको भन्सारबाट मालसामान छुटाउने काममा व्यस्त छन्। स्रोतका अनुसार घिमिरेकी पत्नीको नाममा भन्सार एजेन्टको लाइसेन्स छ। 

प्रकाशित: २ असार २०७९ ०१:१३ बिहीबार

अर्थमन्त्री जनार्दन शर्मा सिएफओ चिफ फाइनान्स अफिसर अर्थ मन्त्रालय