अर्थ

इसेवाद्वारा गैरकानुनी पैसा असुली

हेलिकोप्टरबाट गोसाइँकुण्ड यात्रा गराउने नाममा इसेवाले चिट्ठा खोलेर प्रतिग्राहक कानुनविपरीत ५० रूपैयाँ असुलिरहेको छ।

भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ।

इसेवाले ‘आहा मात्र रु. ५० मा हेलिकोप्टरमा गोसाइँकुण्ड’ नामबाट चिट्ठा कार्यक्रम सञ्चालन गरी सदस्य ग्राहकबाट पैसा असुल गरेको हो। यो कार्यक्रमा सहभागी हुने सदस्यले ५० रूपैयाँ तिर्नुपर्नेछ। सहभागीमध्ये गोला प्रथाद्वारा दुई भाग्यमानी ग्राहकलाई इसेवाले हेलिकोप्टरमार्फत गोसाइँकुण्डको तीर्थयात्रा गराउने र बाँकी सबैको रकम फिर्ता गर्ने भनिएको छ।

राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमति लिएको कुनै पनि संघसंस्थाले चिट्ठा खोल्ने कार्यक्रम ल्याएर आफ्ना ग्राहकबाट पैसा उठाउन पाइँदैन। तर राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने अनुमति लिएको इसेवाले भने चिट्ठा कार्यक्रमका नाममा नयाँ पुराना ग्राहकबाट ५० रूपैयाँको दरले रकम लिने गरेको छ। यो सरासर गैरकानुनी काम हो।

राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले वित्तीय कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिएका कुनै पनि संघसंस्थाले चिट्ठा र यस्तै प्रकृतिका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने जानकारी दिए। ‘आफ्ना ग्राहकबाट पैसा उठाएर चिट्ठा खोल्नु सरासर गैरकानुनी काम हो,’ पोखरेलले सोमबार नागरिकसँग भने, ‘इसेवाले चिट्ठा प्रयोजनका लागि सदस्यहरूबाट पैसा उठाएको छ भने यो कानुनविपरीत हो।’

पोखरेलले यही सूचनालाई आधार मानेर राष्ट्र बैंकको सम्बन्धित शाखालाई जानकारी दिने र शाखाको अनुसन्धानपछि आउने रिपोर्टअनुसार कारबाही अगाडि बढ्ने बताए। राष्ट्र बैंक मात्र होइन, काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरूले पनि इसेवाले चिट्ठा कार्यक्रमका लागि कुनै अनुमति नलिएको जानकारी दिए।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कानुनले सबैलाई चिट्ठा खोल्न बन्देज नगरेको तर स्वीकृति भने अनिवार्य गरेको जानकारी दिए। चिट्ठा ऐन, २०२५ को दफा ३ ले स्वीकृति लिएर मात्र चिट्ठा खोल्न पाइने भन्ने व्यवस्था गरेको छ। तर सबै प्रकृतिका संघसंस्थाले भने चिट्ठा खोल्न पाउँदैनन्। यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पनि इसेवाले यो कार्यक्रमका लागि कुनै पनि स्वीकृति नलिएको जानकारी दिए।

इसेवाका अनुसार यसका अहिलेसम्म १० हजारभन्दा बढी एजेन्ट छन् भने मोबाइल वालेट एजेन्ट १ लाखभन्दा धेरै छन्। इसेवा प्रयोग गर्नेको संख्या ५२ लाखभन्दा धेरै रहेको बताइएको छ। यही तथ्यांकलाई आधार मान्दा कुल ग्राहक सदस्यमध्ये आधा मात्र चिट्ठा कार्यक्रममा सहभागी भए पनि इसेवाले १३ करोड रुपैयाँ संकलन गर्ने देखिन्छ।

५० रुपैयाँमा गोसाइँकुण्डमा हेलिकोप्टरबाट जान पाइने सम्भावना भएपछि यो कार्यक्रममा सहभागी हुन थुप्रै नयाँ ग्राहक सहभागी बन्ने देखिन्छ। त्यसमा अझै इसेवाले ग्राहकलाई लोभ्याउने गरी आकर्षक नारा दिएर विज्ञापन गरेको छ। इसेवाको आफ्नै होमपेजमा ‘तपाईंको पनि अब गोसाइँकुण्ड जाने चाहना पूरा हुन सक्छ है, अझ सरर लक्जरी हेलिकोप्टर चढेर’ भनिएको छ भने हेलिकोप्टरको तस्बिरसहित गोसाइँकुण्ड देखाइएको छ।

सर्सर्ती हेर्दा ५० रुपैयाँ त हो नि भन्ने देखिए पनि इसेवाले यो कार्यक्रमबाट करोडौं रुपैयाँ संकलन गरेको छ। सर्वसाधारण जनताबाट उठाइने यत्रो ठुलो रकम इसेवाले बिनाब्याज प्रयोग गर्न पाउनेछ। इसेवाका एक कर्मचारीले यो कार्यक्रमबाट उठाएको रकम बैंकको ‘पुल एकाउन्ट’ मा जम्मा हुने भएकाले संस्थाले कुनै पनि फाइदा नलिने दाबी गरे।

‘यो विशुद्ध ग्राहक बनाउने योजना हो,’ उनले भने, ‘वित्तीय रूपमा यसबाट संस्थालाई कुनै फाइदा छैन।’ वित्तीय सेवामा राम्रो काम गर्दै आए पनि इसेवा बेलाबेलामा विवादमा पर्दै आएको छ। यो कम्पनीमा गरिएको लगानीको स्रोतमा पनि केही वर्षअघि विवाद उठेको थियो। इसेवाका संस्थापक विश्वास ढकाल हुन्। केही समयअघिसम्म यो संस्थामा विवादास्पद छवि बनाएका अस्गर अली पनि आबद्ध थिए।

इसेवाका अनुसार गत वैशाख १८ देखि सुरु भएको यो चिट्ठा कार्यक्रम जेठ ३० मा सकिनेछ। तर संस्थालाई आवश्यक परे कारण नखुलाई योजनाका सर्तहरू परिवर्तन गर्न वा योजना रद्द गर्नसमेत सक्ने भनिएको छ। यसबाहेक इसेवाले कार्यक्रमका अन्य सर्तहरू पनि संस्थाको हित हुनेगरी कडा किसिमका राखेको छ। अभियान समाप्त भएको एक साताभित्र विजेता घोषणा गरिने र विजेताले यसको एक महिनाभित्र पुरस्कार दाबी गर्नुपर्ने सर्त राखिएको छ।

इसेवा सन् २००९ मा स्थापना भएको कम्पनी हो। यसले सदस्य ग्राहकलाई सेवा दिएबापत विभिन्न किसिमबाट शुल्क लिँदै आएको छ। इसेवा एफ वान सफ्ट इन्टरनेसनल कम्पनीको सहायक कम्पनी हो। इसेवाले मोबाइल रिचार्ज गर्न, स्कुल फी, खानेपानी, विद्युत्लगायत अन्य आवश्यक बिल तिर्न पाउने कानुनी अनुमति लिएको छ। यस्तै सरकारी कार्यालयको बिल तिर्न पनि इसेवा प्रयोग हुँदै आएको छ।

आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभाग, ट्राफिक प्रहरीलगायतको बिल तिर्नसमेत पाउने गरी यसलाई राष्ट्र बैंकले अनुमति दिएको हो। मुलुकमा क्यासलेस अर्थतन्त्रको विकास गर्न सहयोग पुराउने उद्देश्य राखेको इसेवाका विराटनगर, चितवन, पोखरा, बुटवल, कोहलपुर र धनगढीमा शाखा कार्यालय छन्। यस्तै यो ५० भन्दा बढी बैंकहरूसँग आबद्ध छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०२:१७ मंगलबार

भुक्तानी सेवा प्रदायक कम्पनी ‘आहा मात्र रु. ५० मा हेलिकोप्टरमा गोसाइँकुण्ड’ राष्ट्र बैंकबाट वित्तीय कारोबार