कानुनी प्रक्रिया पूरा नहुँदा करोडौं रूपैयाँबराबरको सखुवाको काठ कुहिन थालेको छ। विभिन्न समयमा चुरे क्षेत्रका वनबाट अवैध रूपमा कटान गरी ओसारपसार गर्नेक्रममा बरामद गरिएको सखुवाको काठ र सवारीसाधन भण्डारण गरिएकै स्थानमा सड्न थालेका छन्।
माई नगरपालिकास्थित दानाबारी र चुलाचुली गाउँपालिकास्थित वन सवडिभिजन परिसरमा सखुवा र सवारीसाधन कहिलेदेखि राखिएको भन्ने थ्यांकसमेत छैन। बेलैमा मुद्दा किनारा नलाग्दा बरामद करोडौं रूपैयाँबाराबरका सखुवा र गाडी नष्ट भइरहे पनि सरोकारवाला पक्षको ध्यान पुगेको छैन। काठ ओसार्न प्रयोग भएका ट्रक, बस, जिप, साइकललगायतका सवारीसाधनसमेत बिग्रिन पुगको वन कार्यालयले जनाएका छन्।
बरामद काठ वन कार्यालयले मुद्दाको प्रक्रियामा लैजान्छ। मुद्दामा गएपछि फैसला नहुञ्जेल वनले नियन्त्रणमा राखेको हुन्छ। दानाबारी वन सवडिभिजन परिसरमा अवैध रूपमा कटान गरी ओसारपसार गर्ने क्रममा बरामद सखुवाको चाङैचाङ छ। सवडिभिजन प्रमुख टेकेन्द्र बिष्ट बरामद काठ कति छ भन्ने तथ्यांकसमेत यकिन गर्न समय लाग्ने बताउँछन्।
‘यहाँ वर्षाैंदेखि बरामद काठको चाङ छ, मुद्दा किनारा नलाग्दा धेरै काठ सडेर जान थालेको छ,’ उनले भने, ‘काठ र सवारीसाधन कति वर्षदेखि राखिएका हुन् भन्ने स्पष्ट थाहा हुन सकेको छैन।’ वरपरका सामुदायिक वनबाट सखुवा बरामद गरिएको हो। तस्करले रातारात कटान गरेको सखुवा बरामद गरेर ल्याएर यहाँ राखिएको उनले बताए। काठ धेरै हुँदै गएकाले कुन काठ कुन मुद्दाको हो भन्ने खुट्याउनसमेत समस्या हुन थालेको छ।
‘बरामद काठ यति धेरै छ कि अब मुद्दा किनारा नै लागे पनि कुन काठ कुन मुद्दाको हो भनेर खुट्याउनै जटिल पर्ने सम्भावना छ,’ उनले भने। दानाबारी सवडिभिजन परिसरमा अवैध काठ ओसारपसारमा प्रयोग भएका बस, ट्रक, ट्र्याक्टर, जिप, साइकल, मोटरसाइलकलगायत सयौं सवारीसाधन छन्।
‘ती सवारीसाधनसमेत नष्ट भएर जान थालेका छन्,’ उनले भने, ‘सवारीसाधनको धनी को हो भन्ने पनि यकिन छैन। बरामद काठ र सवारीसाधन मेरो हो भनेर दाबी गर्न पनि कोही आउँदैनन्।’ ‘धेरैजसो सवारीधनीले आफ्नो गाडीले अवैध रूपमा सखुवा ओसारेको थाहै पाउँदैनन्,’ बिष्टले भने, ‘यात्रु बोक्ने बस, अरू सामान बोक्ने ट्रकका चालकले सवारीधनीलाई थाहै नदिइैकन सखुवा ओसार्दा सवारीधनी फस्ने गरेको पनि पाइएको छ।’
मुद्दा दर्ता गर्दा आरोपीलाई सजाय माग गरिए पनि बरामद काठबारे कुनै मागदाबी नहुँदा नष्ट हुने अवस्थामा पुगेको हो। किनारा लागेका मुद्दामा पनि व्यक्तिको बारेमा मात्रै फैसला हुने तर बरामद काठ वा सवारीसाधनको बारेमा फैसलामा केही उल्लेख नभएकाले लिलामीमा जान नसकिएको बिष्टले बताए। ‘मुद्दा किनारा लाग्दा जो आरोपी हो, उसको बारेमा फैसला हुन्छ तर बरामद सामानबारे केही उल्लेख हुुँदैन,’ उनले भने, ‘यो अवस्थाबारे हामीले वन विभागका विभिन्न एकाइमा छलफल पनि गरेका छौं।’
माई नगरपालिकामा मात्रै ६५ सामुदायिक वन छन्। यी वनबाट बरामद कतिपय काठ सामुदायिक वन उपभोक्ता समितिलाई पनि दिने गरेको बिष्ट बताउँछन्। ‘बरामद काठ यहाँ ल्याएर सडाउनुभन्दा सामुदायिक वन समितिलाई पनि दिने गरेका छौं,’ उनले भने, ‘यसरी दिइएको काठ ती समितिले प्रक्रिया पुर्याएर लिलाम गर्छन्।’ सामुदायिक वनले आफ्नो वन क्षेत्रअनुसार हरेक वर्ष निश्चित परिमाणको काठ लिलाम गर्न पाउँछन्।
यो क्षेत्रमा बर्सेनि ४ सयदेखि २ हजार २ सय क्युबिक फिटसम्म काठ लिलाम गर्ने सामुदायिक वन समिति पनि रहेको बिष्टले जनाए। सखुवाको हरियो रुख काट्न नपाउने व्यवस्था छ। वन समितिले प्रक्रिया पुर्याएर उपभोक्ताभित्रै खपत गर्न सुकेको खडा सखुवा पनि काट्न पाउँछ तर बाहिर बिक्री गर्ने प्रयोजनका लागि भने सुकेकै भए पनि खडा सखुवा काट्न नपाउने व्यवस्था छ।
दानाबारीमा मात्र होइन, चुलाचुुली सवडिभिजनमा पनि यस्तो सखुवाको भण्डारण गरिएको छ। यहाँचाहिँ सयौंको संख्यामा साइकल र मोटरसाइकलसमेत बरामद गरी भण्डार गरिएको छ। तर आधाभन्दा बढी साइकल नष्ट भएका छन्। धेरैजसो काठ कुहिएर काम नलाग्ने भएको छ। चुलाचुलीमा करिब ३ सय क्युबिक फिट सखुवा भण्डारण रहेको अनुमान गरिए पनि दानाबारीमा कति छ भन्ने यकिन हुन नसकेको सदरमुकामस्थित वन डिभिजनले जनाएको छ।
डिभिजनले बरामद सखुवा र सवारीसाधनको विवरण एकीकृत गर्न बाँकी रहेको जनाएको छ। कार्यालयका सहायक वन अधिकृत सञ्जीव ढकालले बरामद सखुवा र सवारीसाधनको विवरण संकलन भइरहेको बताए। ‘कति वर्षदेखि ती सखुवा र सवारीसाधन भण्डारण गरिएका हुन् र कति संख्यामा छन् भन्ने पनि विवरण संकलन गर्न सकिएको छैन,’ उनले भने ‘यो विवरण संकलनका लागि डिभिजनले छुट्टै समिति बनाएको छ, समितिले आफ्नो काम गर्दैछ।’
उनले वर्षाैंदेखिको विवरण वनका विभिन्न कार्यालयको रजिस्ट्ररमा रहे पनि एकीकृत गर्न बाँकी रहेको जनाए। ‘विवरण त सबै राखेकै हुन्छ तर बरामद काठ र सवारी कति छन्, कहिलेदेखि भण्डारण गरिएका हुन् भन्ने हिसाब संकलन गर्न अझै केही समय लाग्छ,’ उनले भने, ‘बरामद कतिपय काठ र सवारीसाधन बेवारिसे अवस्थामा पनि फेलापरेकाल छन्।’
प्रकाशित: ३० जेष्ठ २०७९ ०३:३८ सोमबार