अर्थ

किसानलाई बाख्रापालन तालिम

ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले किसानहरुलाई बाख्रापालन तालिम दिएको छ।

समूहमा आवद्ध समूह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ बाख्रापालन व्यवसाय गर्दै आएका र गर्न चाहने आफ्ना समूहका सदस्यहरुलाई एक दिने तालिम दिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था बैतडीका शाखा प्रवन्धक केशवराज भट्टले बताए।

संस्थाले बाख्रापालन सम्वन्धि तालिम दिएपछि बाख्रापालन व्यवसाय गर्न सहज भएको तालिममा सहभागी दशरथचन्द नगरपालिका–९ की जानकी जोशीले बताइन्। परम्परागत रुपमा बाख्रा पाल्दै आएका किसानहरुको क्षमता बढाएर व्यवसायिक बनाउँदै आत्मनिर्भर बनाउन संस्थाले विभिन्न किसिमका तालिम दिँदै आएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख अर्जुन पोखरेलले बताए।

गोठालापानीको होटल समुराइमा सम्पन्न तालिममा ४६ जना किसानको सहभागिता रहेको थियो। तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण दिएको प्रशिक्षक रमेशचन्द्र भट्टले जानकारी दिए। संस्थाकी समूह सदस्य तुलसी ठगुन्नाको अध्यक्षतामा सम्पन्न तालिमको संस्थाका कर्मचारी बशन्त भट्टले सञ्चालन गरेका थिए भने पुष्पा जोशीले स्वागत मन्तव्य राखेकी थिइन्।

संस्थाले विपन्न महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आएको छ।

लघुवित्त वित्तीय संस्थाका ७५ समूहमा एक हजार २ सय ८ जना सदस्य रहेका छन्। ७ वर्षअघि बैतडीमा शाखा विस्तार गरेको यो संस्थाको ४ करोड संस्था वचत, साढे तीन करोड ऋण लगानी रहेको शाखा प्रवन्धक भट्टले बताए। यस शाखाबाट ४ सय २१ जनाले विभिन्न व्यवसायको लागि ऋण लिएका छन्।

प्रकाशित: २८ जेष्ठ २०७९ १३:३२ शनिबार