अर्थ

सिन्धुलीमा पचास लाख लागतमा जराबुट्टा कला संग्राहलय बन्दै

सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित कलासंर्जक विश्वम्भर लामिछानेद्वारा निर्मित उनकै निवासमा रहेका जराबुट्टा कला संग्राहलय। तस्बिरः अनिल/नागरिक

घरवरिपरि हराभर हरियाली छ। वरिपरि हरियालीकै बीचमा एउटा कलात्मक घर छ त्यहीबीचमा रहेको एउटा घरको एक कोठामा भने जराबुट्टाका कला संग्राहलयनै छ। यो दृश्य सिन्धुलीको कमलामाई नगरपालिका ४ साङवाले नजिकै रहेको विश्वम्भर लामिछानेको घरको हो।

विश्वम्भर पेशाले कानुन व्यवसायी हुन्। दिनभर जिल्ला अदालतकै आसपासमा रहेको बार एसोसियसनमा बसेर कानुनी व्यवसाय गर्ने विश्वम्भरकाे घरको कला हेर्दा जो कोही दङ्ग पर्छन्। घरको एउटा कोठानै जराबुट्टाका कलाले भरिएको छ। जराबुट्टाबाट केही न केही सन्देश दिने कलासहित उनी सजावटकै सामग्री तयार गर्छन्।

दिनभर कानुनी सेवा दिएर बाँकी भएको समय उनी जरालाई आकृति दिन व्यस्त देखिन्छन्। खोला बगरमा दाउरा बाल्ने तथा खेर जाने जरा उनका लागि ठूलै कला हुन्छ। 'अरुले दाउरा देख्ने जरा मेरो लागि कला हो,' उनले भने, 'मैले जतिपनि कला तयार गरेको छु, त्यो सबै जराबाट नै भएको हो।'

घरभित्रै संग्राहलय बनाएर जराबुट्टा कला राख्ने सम्भवत् नेपालमै उनी मात्रै हुन्। उनको घर संग्राहलयले भरिपूर्ण छ। घरमा झन्डै तीन सय बढी जराबुट्टाका कला उनले संग्राहलयनै बनाएर राखेका छन्। घरमै संग्राहलय बनाएर राखिएको जराबुट्टाका कला हेर्न आन्तरिक पर्यटकहरु आउन थालेसँगै बागमती प्रदेश सरकारले कला संग्राहलयको छुट्टै भवन बनाउन बजेट दिएपछि हाल धमाधम भवन बन्न थालेको छ। बागमती प्रदेश सरकारले पचास लाख रुपैयाँ बजेट उपलब्ध गराएसँगै जराबुट्टाको व्यवस्थित संग्राहलय बनाउन भवन बन्न सुरु भएको छ।  

संग्राहलय र विश्वम्भरकाे कला हेर्न दैनिक जिल्लाका आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक समेत उनको घर पुग्छन्। कुनै झर्को नमानी हेर्न जानेलाई कला संग्राहलय देखाउने र ति जराबुट्टाका विशेषता बताउने उनको काम हुन्छ। 'दैनिक संग्राहलय हेर्न आउँछन्,' उनले नागरिकसँग हास्दै भने, 'म चासो राखेर हेर्न आउनेलाई खुसीसाथ कला देखाएर त्यसको विशेषता बताउँछु।' उनले पछिल्लो समय कला हेर्न मात्र नभएर कलाको दृश्यसहित टिकटक बनाउन आउनेको घुइँचो हुने बताए।

उनको कलामा देशको माया एकआपसमा भाइचाराको सम्बन्ध मातृत्वको माया लगायतका भाव झल्काउने विशेषता ति जराबुट्टामा भएको कला हेर्नेले बताउँछन्। कोठामा गएर हेर्दा जो कोही रमाइलो मान्ने गरी सजाएका अधिकांश कलामा केही न केही विशेषता रहेको बताउँछन्। मेहनेत गरेर बनाएका कला बेच्ने हो भने जतिबेला पनि बिक्छ तर उनी कला बेच्न मान्दैनन्। 'यो मेरो व्यवसाय पनि होइन म बेच्दिनँ र, कसैलाई पनि दिने काम पनि गर्दिनँ,' उनले भने, 'सरकारी तवरबाट सहयोग भएकाले मैले संग्राहलय बनाउन जग्गा दिएर हाल संग्राहलय बनाउने काम भइरहेको छ।'  

झन्डै ३० वर्ष अगाडि स्थानीय ग्रामीण बाटो निर्माण गर्ने क्रममा एउटा काफलको रुख काटिएको थियो। रुख अर्काे एक जराबाट उम्रिएको रहेछ काफलको भन्दा काफलको रुख उम्रिएको अर्को जराबाट उनले कला निर्माण गर्न सुरु गरे। सो कला बनाएपछि सबैले विश्वासिलो कला भएपछि कला निर्माण गर्न हौसल्ला मिलेको उनले जनाए। 'जति कला जराबाट कला बनाएँ सबै यही कोठामै संग्राहलय बनाएर राखेको छु,' उनले भने, 'अब मैले मुलुकलाई दिन सक्ने भनेको यही कला हो त्यसैले सार्वजानिक रुपमा यो कलाको संरक्षण गर्न संग्राहलय बनाउन लागेका हौँ।'

लामिछानेले बनाएको कलालाई व्यवस्थित गरी संरक्षण गरीराख्नका लागि कला केन्द्र निर्माण गर्न लागिएको जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालले बताए। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा बागमती प्रदेश सरकारको झण्डै ५० लाख लागतमा उक्त जराबुट्टा कला केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेशको ४९ लाख ९९ हजार लागतमा जबुट्टा कला केन्द्रको भवन बन्ने उपाध्यक्ष बरालले जनाए।

प्रकाशित: २६ जेष्ठ २०७९ १३:२७ बिहीबार