अर्थ

कमल गाउँपालिकामा कामना विकास बैंकको बैंकिङ सेवा

कामना सेवा विकास बैंकले सेवा विस्तार गर्ने क्रममा बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका वडा-७ गेउरियामा १३ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो।

सोही वडाको अध्यक्ष पृथ्विपति राईले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका थिए भने सन्तोष राईलाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिने छ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:०६ बिहीबार

कामना विकास बैंकको बैंकिङ सेवा झापा जिल्लाको कमल गाउँपालिका