भक्तपुरका उद्योगी व्यवसायीहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी भक्तपुरको नगरकोट सडक यथाशीघ्र कालोपत्रे गरिदिन माग राखेका छन्।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार काठमाडौंमा पुगेको कार्यसमितिको प्रतिनिधिमण्डलले अन्य जिल्लाका १० वटा बुँंदाहरुका बारेमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरएका छन्।
उनीहरुले जिल्लाको सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यान केन्द्रको अविलम्ब निर्माण तथा संचालनमा ल्याउनुपर्ने, भक्तपुर जिल्लामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभाहल निर्माण गरिनुपर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
साथै उनीहरुले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृत दिनुपर्ने, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउन तारे होटलहरु निर्माणको प्रवन्ध गरिनुपर्ने, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रुपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथासिघ्र उचित स्थानमा स्थानान्तरण गरिनुपर्ने, व्यवसायिक कृषि खेती गर्नको लागि नेपालमै मल कारखाना खोल्नुपर्ने, जिल्लाभित्र उत्पादित कृषि उपजकोे वजारीकरण लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिनुपर्ने, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधारगरी श्रम लागत छिमेकी मुलुक सरह बनाइनुपर्ने, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित बस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै ८ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिनुपर्ने, आ. व. २०७९/०८० बजेटमा बिद्युतीय सवारी साधानमा करका दरमा गरिएको बृद्धिबारे पुर्नविचार गरिनुपर्ने, युवाहरुलाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्सान मिल्ने कार्यक्रमहरु ल्याउनुपर्ने र स्वदेशमा रोजगारी र्सिजना गरिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएका छन्।
भेटघाटमा संघका अध्यक्ष मानन्धरले भक्तपुर जिल्लाको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने र प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार विकासका कार्यहरु सम्पन्न गर्न विशेष पहलका लागि अनुरोध गरे। भेटमा संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँं धौबञ्जा, उपाध्यक्ष राजेन्द्र प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाललगायतका व्यक्तिहरु सहभागी थिए।
प्रकाशित: २५ जेष्ठ २०७९ १२:०४ बुधबार