अर्थ

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।

विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका २ सय महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो। मञ्चले तिलगंगा महिला बहुउद्देश्य संस्था लिमिटेडको समन्वयमा दुई सय जना महिला किसानलाई जनही २५ किलोग्राम अर्गानिक कम्पोस्ट वितरण गरेको हो।

कम्पोष्ट मल वितरण कार्यक्रममा महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिका पनि सिकाइएको थियो। कम्पोष्ट मल वितरण गर्दै महिला नेतृत्व मञ्चकी अध्यक्ष छाया शर्माले माटो जोगाउन अति नै आवश्यक रहेको बताइन्। किसानका लागि हरेक दिन वातावरण दिवस हुनुपर्ने तथा कृषिलाई व्यवसायीमुखी बनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

वातावरण स्वच्छ नभएसम्म मानिसहरू पनि स्वस्थ रहन नसक्ने भन्दै उनले वातावरण स्वच्छ राख्न पनि सबैको भूमिका महत्वपूर्ण हुने बताइन्। डा. आनन्द शोभा ताम्राकारले महिला कृषकलाई कम्पोष्ट मल बनाउने तरिकाबारे जानकारी गराइन्। सोही कार्यक्रममा नेपाल बंगलादेश बैंकबाट १० जना महिला किसानलाई किसान क्रेडिट कार्ड पनि उपलब्ध गराइएको थियो।

प्रकाशित: २४ जेष्ठ २०७९ ०७:४९ मंगलबार

नेपाल उद्योग परिसंघ विश्व वातावरण दिवस मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका