अर्थ

दश महिनामा १ लाख ५९ हजार बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज, आम्दानी ९ करोड नाघ्यो

चालू आर्थिक वर्ष २०७८/७९ को दश महिनामा १ लाख ५९ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। 

निकुञ्जका अनुसार, गएको साउनदेखि वैशाख मसान्तसम्ममा विदेशी र स्वदेशी पर्यटक गरि १ लाख ५९ हजार ८८१ जना निकुञ्ज घुमेका छन्। निकुञ्ज घुम्नेमा महिलाभन्दा पुरुष बढी छन्। ८२ हजार ५४२ पुरुष र ७७ हजार ३३९ महिलाले निकुञ्जको भ्रमण गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ।  

चालु आर्थिक वर्ष चैत्र महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्ज अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। तर, विदेशी पर्यटकभने वैशाखमा बढी आएका छन्।  तिवारीका अनुसार, चैत्रमा २६ हजार २१८ जना निकुञ्ज घुमेका छन्।  त्यसपछि बैशाखमा २५ हजार ३३९ जना पर्यटक निकुञ्ज आएका छन्।  

त्यस्तै पुसमा २३ हजार ९९५, फागुनमा २२ हजार ८४४, कात्तिकमा २१ हजार ५०६, मंसीरमा १९ हजार ८०, माघमा १० हजार १७१, असोजमा पाँच हजार ८३५, भदौमा दुई हजार ९७७ तथा साउनमा एक हजार ९०६ जना  निकुञ्ज प्रवेश गरेका छन्।  

निकुञ्ज प्रवेश गर्नेमा आन्तरिक पर्यटक नै बढी छन्। दश महिनाको अवधिमा १ लाख ३६ हजार ५२२ जना स्वदेशी पर्यटक छन्। विदेशी पर्यटक २३ हजार ३५९ जना मात्र रहेको तिवारीले जानकारी दिए। विदेशी पर्यटक मध्ये सार्क मुलुकका १० हजार ९३४ जना छन्। अन्य देशका १२ हजार ४२५ जना पर्यटक निकुञ्ज घुम्न आएका छन्।  

कोरोनाको महामारी सुरुभएपछि चितवनमा विदेशी पर्यटक कम आएका छन्। तर, फागुन महिना लागेपछि भने विस्तारै बढेको देखिन्छ। यो तीन महिनाको अवधिमा मात्रै १५ हजार ५८२ जना विदेशी पर्यटकले निकुञ्ज घुमेका छन्। ७ महिनामा ७ हजार ७७७ जना विदेशी पर्यटक मात्र निकुञ्ज प्रवेश गरेका थिए। सबैभन्दा बढी बैशाख महिनामा ७ हजार ६२८ जना विदेशी पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। त्यस्तै चैत्रमा ५ हजार ३४९ र फागुनमा २ हजार ६०५ विदेशी पर्यटक आएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए।  

गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए। अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी तिवारीले जानकारी दिए। कोरोना महामारीको संक्रमण दर क्रमशः घट्दै गएपछि निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको उनको भनाई छ।  

चितवनमा पर्यटक भित्रिएसंगै पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन्। ‘अब पर्यटन जुन रुपमा भित्रिएका छन्। यसलाई हेर्ने हो भने सहज हुन्छ कि भन्ने लागेको छ,’ नेचर गाईड एशोसियसन चितवनका अध्यक्ष राजेन्द्र धामीले भने, ‘सन् २०१९कै हाराहारीमा पर्यटक आइरहेका छन्।’  

पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म ८ करोड ४ लाख २ हजार ३०० रुपैयाँ राजश्व संकलन गरेको छ। यही वैशाख महिनामा सर्वाधिक १ करोड ९४ लाख २१ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ। त्यसपछि चैत्र महिनामा १ करोड ६३ लाख ६५ हजार ३५० रुपैयाँ राजश्व उठेको छ। सबैभन्दा कम साउन महिनामा ३ लाख ५४ हजार ३५० रुपैयाँ मात्र संकलन भएको छ।  

निकुञ्जले चालु आवमा पर्यटक, दण्डजरिवाना, डुंगा सफारी र ढुंगा गिट्टी बालुवाबाट ९ करोड २४ लाख ८३ हजार ६९७ हजार राजश्व संकलन गरेको छ। 

प्रकाशित: २३ जेष्ठ २०७९ ११:५६ सोमबार