चर्को ब्याजमा ऋण लिएर चुक्ता गरिसके पनि साहुबाट जग्गा फिर्ता नपाएका सप्तरीका पीडितहरुले धरान उपमहागनरपालिका र १९ नम्बर वडा कार्यालयमा निवेदन दिएका छन्।
पीडितहरुले सप्तरीको खगड नगरपालिका ७, कल्याणपुरका रामदेव साह तेलीलाई झिकाएर आफूहरुको जग्गा फिर्ता गराउन माग गर्दै निवेदन दिएका हुन्। प्रहरी प्रशासन र अदालतबाट पनि न्याय पाउन ढिलाई भइरहेको भन्दै पीडितहरु अहिले धरानका जनप्रतिनिधिहरुसँग गुहार मागिरहेका छन्। उनीहरुले बुधबार धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई भेटेर निवेदन दिएका थिए भने बिहीबार वडा नं १९ को कार्यालयमा पनि निवेदन दिएका छन्।
सप्तरीको कल्याणपुरका तेली अहिले धरान १९ मा छोराको साथमा बस्दै आएका छन्। उनीहरुको धनकुटे रोडमा घर छ। पीडितहरुले सप्तरी प्रहरीमा जाहेरी दिएका छन् भने जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन छ। तर, प्रहरी र अदालतले पनि पीडककै पक्षमा देखिएको गुनासो तेलीबाट ठगिएकाहरुको छ। ‘प्रहरी प्रशासन, अदालत सबैतिर गुहार माग्यौ, तर कतैबाट न्याय पाएनौ,’ बोदे बर्साइन नगरपालिका ७ का तैयब अलीले चरम निराशा प्रकट गर्दै भने, ‘हाम्रो कुरा कसैले सुन्दैन। अब एउटै विकल्प देख्छु, कि त मै मर्छु, कि मार्छु।’
पीडितहरुले बिहीबार धरानमा पत्रकार सम्मेलत पनि गरेका थिए। ऋण लिँदा चलन अनुसार आफूहरुको जग्गा राजिनामा पास गरेपनि ब्याजसहित चुक्ता गरेपछि जग्गा फर्काउनु पर्नेमा तेलीले गाउँ कल्याणपुर छोडेर भागेको पीडितहरुको भनाइ छ। विगत २ वर्षदेखि ९ जना तेलीलाई खोज्दै हिडिरहेको र धरान पनि पटक पटक आइसकेका छन्। गत वैशाख पहिलो साता पनि उनीहरु ईलाका प्रहरी कार्यालय कल्याणपुरको पत्र बोकेर आफै धरान आएका थिए। कल्याणपुर प्रहरीले तेलीको धरान १९ मा रहेको घर खानतलासी गरेर बहिखाता फेला परे पठाइदिन आग्रह गरेको थियो। तर, त्यो बेला धरान प्रहरीले खानतलासी गर्न ढिलाई गरेको, पीडितहरुलाई घरभित्र छिर्न नदिएको गुनासो पीडितहरुको छ। ‘सबै बहिखाता यही छ। तर, त्यो बेला हामीलाई भित्र छिर्न नदिई प्रहरी मात्र गयो। उनीहरुले केही भेटिएन भन्यो, हामीलाई त्यसमा विश्वास नै छैन। सबै मिलेमतो भइरहेको छ,’खडग नगरपालिका ६ का पीडित छेदीलाल पासवानले भने।
सप्तरीको कल्याणपुर प्रहरीले बुधबार पनि धरान प्रहरीलाई पत्र पठाउदै रामदेव, उनको श्रीमती शिवकुमारी र छोरा चन्दनकुमार तेलीलाई उपस्थित गराउन आग्रह गरेको छ। तर, धरान प्रहरीले उनीहरुलाई सप्तरी पठाइदिन अझै पनि आनाकानी गरिरहेको पासवानले बताए। ‘धरानको प्रहरीले पनि यो भएन, त्यो भएन भन्दै अल्झाइरहेको छ, हामी न्याय खोज्दै कहाँ कहाँ जानु?’ उनले भने।
तेलीलाई बसेर हिसाब किताब गरौँभन्दा उनी सम्पर्कमा नआउने गरेको पीडितहरुको भनाइ छ। तेलीबाट फिर्ता पाउनुपर्ने जग्गा अरब हाराहारी मुल्यको भएको पीडितहरु बताउँछन्। ‘हामीले त ऋण सबै तिरिसक्यौ। न जग्गा नै पायौ, न हामीसँग पैसा नै रह्यो,’बोदे बर्साइन ९ का पीडित सितल साहले भने।
धरानका जनप्रतिनिधि र प्रहरीबाट पनि न्याय नपाए सडक आन्दोलन गर्नुको विकल्प नभएको छेदीलालको भनाइ छ। उनले धरान १९ स्थित तेलीको घरअघि सडकमै धर्ना बस्ने पनि बताए। ‘प्रहरी प्रशासन, अदालतबाट पनि न्याय पाएनौ, अब सडक आन्दोलन बाहेक हामीले के गर्न सक्छौ र,’उनले भने, ‘तेलीको धरानको घरअगाडि सडकमै धर्ना पनि बसिदिन्छौ।’
जनप्रतिनिधिसँगको आशा
सप्तरीका पीडितहरुले धरानका जनप्रतिनिधिहरुबाट न्याय पाउने आशा गरेका छन्। बुधबार मेयर राईलाई भेटेर समस्या बुझाएको र निवेदन पनि दिएको छेदीदाल पासवानले बताए। उनले भने,‘मेयर ज्युले राम्रो रेस्पोन्स गर्नुभएको छ। न्यायपालिकाले हेर्ने बिषय हो, उपमेयर काठमाण्डौंबाट फर्केपछि आउनुस्, म पनि सहयोग गर्छु भन्नु भएको छ।’
पीडितहरुले तेलीलाई झिकाएर छलफल गरिपाउ भन्दै बिहीबार वडा नं १९ को कार्यालयलाई पनि निवेदन दिएका छन्। वडा १९ का वडाध्यक्ष पुर्ण लिम्बुले निवेदन आएपछि फोन गर्दा रामदेव साहले घरि काठमाण्डौं, घरि भारतमा छुँ भनेको जानकारी दिए। उनले भने, ‘छोरालाई फोन गरेर भोली शुक्रबार ११ बजे वडा कार्यालय आउन भनेको छुँ, पत्र पनि पठाइसकेको छुँ। छलफल गराएर केही सहमति गराउन सकिएला कि?’
प्रकाशित: १९ जेष्ठ २०७९ १४:५२ बिहीबार