अर्थ

समग्रमा बजेट उत्साहजनक: भक्तपुर चेम्बर

भक्तपुर चेम्बर अफ कमर्सले समग्रमा बजेट उत्साहजनक रहेको जनाएको छ। तर बजेट खर्चको लागि दरिलो श्रोत परिचालन र गुणस्तरीय खर्च प्रणालीको विकास गर्नुपर्ने जनाएको छ।  

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि घोषणा गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट खर्चका लागि दरिलो श्रोत परिचालन र गुणस्तरीय खर्च प्रणालीको विकास गर्नुपर्नेमा चेम्बरले बुधबार विज्ञप्ति प्रकाशित गरी जनाएको जोड दिइको छ। बजेटमा घोषणा गरे अनुरुप आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य मौजूदा संरचनागत अवस्थामा कठिन हुने निश्चित भएको चेम्बरको विश्लेषण छ।  

चेम्बरले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने नीतिगत सोचका आधारमा केही कृषि उत्पादनको आयातमा ३० प्रतिशतले कमी गर्ने र निर्यातलाई दोब्बर बनाउने नीति प्रस्ताव गरिनु उत्साहजन रहेको जनाएको छ। कृषि क्षेत्रमा रोजगारीका साथै उत्पादकत्वमा समेत अभिवृद्धि गर्ने उद्देश्य अनुरुप कृषि विकासका लागि विभिन्न परियोजनाहरु प्रस्ताव गरिनु सकारात्मक पक्ष रहेको चेम्बरको भनाई हो। तथापि आन्तरिक उत्पादन वृद्धिमा पूर्ण विस्वस्त नभई आयात प्रतिस्थापनलाई बढावा दिदा मुलुकमा वस्तुको अभाव हुन गई सोबाट मूल्यवृद्धिलाई प्रत्यक्ष प्रोत्साहन मिल्न जानेतर्फ पनि सरकार सचेत हुनुपर्ने जनाएको छ।  

नेपाली उत्पादनको वृद्धि, रोजगारी सृर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम थालनी गर्ने घोषणा गरिएको छ। साथै आफ्नौ उत्पादन आफ्नै उपभोग, एक स्थानीय तह एक विशिष्ट उत्पादन जस्ता कार्यक्रम सञ्चालन गर्दै औद्योगिक विकास र उद्यमशिलता प्रवद्र्धन गर्ने अभियानको घोषणा हुनु राम्रो पक्ष हो, विज्ञप्तिमा भनिएको छ। 

यसका साथसाथै मेक इन नेपाल र मेड इन नेपाल जस्ता निजी क्षेत्रबाट सञ्चालिन अभियानहरुलाई समेत सरकारबाट अवश्यक सहयोग उपलब्ध हुने घोषणाले निजी क्षेत्र उत्साहित हुनु स्वभाविक रहेको जनाएको छ। तर विगतका बजेट घोषणाहरुबाट सञ्चालन गरिएको यस्ता अभियानहरुको कार्यान्वयन, त्यसको सफलता र सोबाट आर्थिक विकासमा पुगेको प्रभावको मूल्याकन विना ल्याइएका यस्ता अभियानहरु केवल नारामा मात्रै सिसिम हुने त होइन भन्ने संकोच पनि भक्तपुर चेम्बर अफ कमर्सको रहेको जनाएको छ। यसैगरी विदेशी लगानीको सीमा घटाई दुई करोडमात्र कायम गर्ने व्यवस्थाले स्वदेशी लगानी निरुत्साही हुन जाने देखिएको भनाई छ।  

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुर्‍याउनका लागि उच्च निर्यात सम्भावना भएका वस्तु एवं सेवाहरुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था हुनु राम्रो पक्ष हो, विज्ञप्तिमा भनिएको छ। नेपालबाट निकासी हुने वस्तुहरुको सहज निकासीका लागि प्रयोगशालाहरुको स्तरोन्नती गर्ने देखि लिएर खेतदेखि कारखानासम्म एकिकृत नमुना कार्यक्रम घोषणा हुनु स्वागत योग्य रहेका जनाएको छ।  

उद्योग व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा धितो राखी कर्जा लिन, व्यवसाय टाट पल्टेमा विक्री गरी सरकारी राजस्व तिर्न र बैंक तथा वित्तिय संस्थाको कर्जा तिर्न भुक्तानी गर्न पाउने व्यवस्थाले निजी क्षेत्रको प्रवर्धनमा सहयोग पुग्ने देखिएको जनाएको छ।  

अगामी आर्थिक वर्ष १२ खर्व ४० अर्व ११ करोड राजस्व उठाउने महत्वकांक्षी लक्ष्य लिइएको छ। कोभिड महामारी पश्चातको पुनरुथानले भरखरै गति लिन थालेको अर्थतन्त्रमा उक्त लक्ष हासिल गर्नु अत्यन्तै कठिन र चुनौतीपूर्ण हुनेछ, चेम्वरको भनाई छ। साथै तरलताको समस्या भईरहेको वर्तमान परिप्रेक्षमा आन्तरिक ऋणको लक्ष्य २ खर्ब ३६ अर्ब राखिदा आगामी वर्ष तरलता समस्या झनै विकराल हुने देखिएको जनाएको छ।  

समग्रमा बजेट उत्साहजनक छ। बजेटमा समावेश भएका कतिपय कार्यक्रमहरुले अर्थतन्त्रलाई सकारात्मकतातर्फ दोहोर्‍याउने संकेत गरेको छ। मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्दै आर्थिक सामाजिक विकासको आकांक्षा पूरा गर्न सरकारबाट बजेटमार्फत भएको प्रतिवद्धता बमोजिम सहि कार्य भएको खण्डमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पुरा हुने भक्तपुर चेम्बर अफ कमर्सको थम्याई रहेको जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ १३:१८ बुधबार