अर्थ

आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित भएन: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन्।

बुधबार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेट चुनावलाई लक्षित गरेर नल्याइएको दोहोर्‍याउँदै बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको जिकिर गरे। मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे।

उनले प्रतिपक्ष दलहरुलाई बजेट अनुदान नदिनेमा ढुक्क हुन आग्रह गरे। मन्त्री शर्माले प्रतिपक्षले इण्डक्शन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाइएको भन्दै प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताए।

उनले इण्डक्शन चुलो निर्वाचनसँग केन्द्रित नभएको भन्दै चुलोमा राजनीति नगरेको स्पष्ट पारे। मन्त्री शर्माले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसै अनुसारका संरचनामा बजेटले जोड दिएको बताए।

उनले इण्डक्शन चुलो बाँडेर भोट साट्ने कुरा सरकारको नरहेको बताए। अर्थमन्त्री शर्माले संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरुलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने बताए।

उनले पुरानो संसदीय मान्यताका आधारमा बिरोधका लागि बिरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए। मन्त्री शर्माले देश ठूलो शंकटमा गइरहेको कुरा उठिरहेको भन्दै देशको आर्थिक शंकटलाई सरकारले हालै प्रस्तुत गरेको बजेट नै समाधानको अन्तिम विकल्प रहेको बताए।

उनले सरकारले देशभरबाट जनताले दिएका गुनासाहरुका आधारमा नै बजेट निर्माण गरेको बताए। अर्थमन्त्री शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जनताले प्रस्टरुपमा बुझिसेकेको बताए। उनले जनताले बजेट कृषिमा जाने रहेछ भनेर कृषिमा लाग्नुपर्ने धारणा राखिरहेको बताए । 

प्रकाशित: १८ जेष्ठ २०७९ १३:०७ बुधबार

अर्थमन्त्री जनार्दन शर्मा आगामी आर्थिक वर्षको बजेट