अर्थ

कोरोना बिमा भुक्तानी दिन अदालतको आदेश

कोरोना बिमा वापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले सोमबार आदेश दिएको छ।  

नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो। उच्च अदालतका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारू र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न बिमा कम्पनीको नाममा परामादेश आदेश गरेको हो। निवेदकको पक्षमा परमादेश आदेश भएको उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए।

नेपाल पत्रकार महासंघ मोरङको तर्फबाट अधिवक्ता मनोजकुमार आचार्यले बहस गरे। विपक्षीको तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरेका थिए। दुवै पक्षको बहसपछि उच्च अदालतले बिमा गर्ने कम्पनी अजोड इन्स्योरेन्सलाई बिमा रकम भुक्तानी गर्न परामादेश आदेश गरेको बताउँदै, सूचना अधिकारी सुवेदीले भने, ‘आदेशको पूर्ण पाठ ५ दिनपछि आउने छ।’ महासंघले बिमा सम्झौता गर्ने अजोड इन्स्योरेन्ससहित बिमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो।

‘अदालतले कानुन बमोजिक आदेश दिएको हो,’ अधिवक्ता आचार्यले भने, ‘सरकारलाई देखाएर बिमा कम्पनी उम्किने अवस्था रहँदैन। बिमा अभिलेखमा अरू कुनै सर्त उल्लेख छैन। त्यही भएर बिमा गरेको भुक्तानी दिने जिम्मेवारी अजोडकै हो।’

नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २ सय जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बिमा गरिएको थियो। त्यसमध्ये ५१ जना बिमितमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए।

प्रकाशित: १६ जेष्ठ २०७९ १३:०९ सोमबार