अर्थ

आर्थिक वर्ष २०७९/०८० को कूल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ

सरकारले आर्थिक वर्ष २०७९/०८० का लागी १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ।

आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये पुँजीगत खर्चमा ३ खर्ब ८० अर्ब (२१.२५) रुपैयाँ छुट्ट्याइएको छ। चालु खर्चमा ७ खर्ब ५३ अर्ब (४२.५) रुपैयाँ छुट्ट्याइएको छ।

ऋण तथा ब्याज तिर्न वित्तीय व्यवस्थाअन्तर्गत २ खर्ब ३० अर्ब रुपैयाँ छुट्ट्याइएको छ।

त्यस्तै प्रदेश तथा स्थानीय तहका लागि वित्तीय हस्तान्तरणअन्तर्गत ४ खर्ब २९ अर्ब रुपैयाँ छुट्ट्याइएको छ।

बजेटमा उल्लिखित रकम जुटाउन अर्थमन्त्री जनार्दन शर्माले १२ खर्ब ४० अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेका छन्।

यति गर्दा पनि नपुग हुने रकमका लागि अर्थमन्त्रीले विदेशी ऋणमार्फत् झन्डै २ खर्ब ४२ अर्ब, विदेशी अनुदानबाट ५५ अर्ब र आन्तरिक ऋणबाट झन्डै २ खर्ब ५६ अर्ब रुपैयाँ उठाउने अनुमान गरे।

गत वर्ष नेकपा एमाले नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्बको बजेट विनियोजन गरेका थिए। संसद् विघटन भएका कारण अध्यादेशमार्फत् जारी गरिएको गत वर्षको बजेट सिंहदरबारबाट वाचन गरेर सुनाइएको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९ १२:५९ आइतबार