अर्थ

१५५ किलोमिटर सडक कालोपत्र

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा संघीय सरकार मातहत एक सय ५५ किलोमिटर नयाँ सडक कालोपत्रे भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा शनिबार पेश गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आवको फागुन मसान्तसम्मको अवधिमा संघीय सरकारले १५५ किलोमिटर नयाँ सडक निर्माण गरेको उल्लेख छ। अर्थमन्त्रालयका अनुसार चालु आवको सो अवधिसम्म २६५ किलोमिटर सडक खण्डाश्मित स्तरमा र ३२५ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ।

आर्थिक वर्ष २०७७/७८को फागुनमसान्तसम्मको अवधिमा भने संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको थियो। सोही अवधिमा पाँच सय ४ किलोमिटर ग्राभेल र दुई सय ८४ किलोमिटर कच्ची सडक निर्माण भएको छ। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार हालसम्म संघीय सरकार मातहत फागुनमसान्तसम्म कुल १६ हजार ९ सय ३९ किलोमिटर सडक कालोपत्रे भएको छ। त्यसैगरी ८ हजार एक सय ११ किलोमिटर सडक ग्राभेल र ८ हजार ८ सय २१ किलोमिटर कच्ची सडक रहेको छ। गत आर्थिक वर्षमा १८२ वटा पुल निर्माण भएका थिए।

चालु आवको ८ महिनाको अवधिमा भने ८० वटा पुल निर्माण सम्पन्न भएका छन्। चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा प्रादेशिक र स्थानीय स्तरमा सबैखालका गरेर ९ सय २१ किलोमिटर सडक विस्तार भएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा प्रादेशिक र स्थानीय तहमा ६३ हजार ६ सय ९६ किलोमिटर सडक पुगेको थियो। चालु आवमा ९ सय २१ किलोमिटर थप भएर ६४ हजार ६ सय १७ किलोमिटर पुगेको छ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाले अपेक्षाकृत रूपमा कार्यसम्पादन गर्न नसकेको देखिएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा आठ महिनाको अवधिमा ४४ किलोमिटर मात्रै थप कालोपत्रे भएको छ। हालसम्म यो आयोजनाको एक हजार एक सय ५७ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। यो आयोजना अन्तर्गत १२९ वटा पुल निर्माण हुुनुपर्नेमा फागुन मसान्तसम्म भने ९२ वटा मात्रै पुल बनेको छ। चालु आवको ८ महिनाको अवधिमा हुलाकी राजमार्गको निर्माण कार्य पनि अत्यन्तै सुस्त भएको देखिन्छ।

चालु आवको ८ महिनाको अवधिमा ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। एक हजार ७ सय ९२ किलोमिटरमध्ये गत फागुनसम्म ८ सय १८ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। यो राजमार्ग अन्तर्गत २ सय १९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुनसम्म एक सय ५ वटा मात्रै निर्माण सकिएको छ। यी दुई राष्ट्रिय गौरवका आयोजना मात्रै होइन अन्य आयोजनाको पनि अपेक्षित गतिमा काम हुन सकेको छैन।

१७ हजारमा इम्बोस्ड नम्बर प्लेट जडान

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकभर एक लाख ३५ हजार ३ सय ४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भई ८ हजार ३ सय ६७ सवारीसाधनमा जडान भएको छ। गत फागुन मसान्तसम्म १७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ। २०७८ असार मसान्तसम्म भने ३८ हजार ३ सय ३ इम्बोस्ड नम्बर उत्पादन भएर ९ हजार ५१ सवारीसाधनमा मात्रै जडान भएको थियो। सरकारले चालु आवको आठ महिनाको अवधिमा २ लाख ४६ हजार ६ सय ५२ सवारीचालक अनुमतिपत्र वितरण गरेको छ। आर्थिक वर्ष २०७८ को असार मसान्तसम्मको अवधिमा भने २० लाख ९० हजार ८ सय ५० सवारीचालक अनुमतिपत्र वितरण गरेको थियो।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:३२ आइतबार

अर्थमन्त्री जनार्दन शर्मा १५५ किलोमिटर सडक कालोपत्र