अर्थ

डिजिटल रूपान्तरणका लागि रणनीतिक साझेदारी

राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ।

सहकारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए। ‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं’–उनले भने। सम्झौता-पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे।

सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सी लगायतका लागि महत्त्वपूर्ण सफ्टवेयर विकास गरेको बताएको छ। सो कम्पनीले हाल एक हजारभन्दा बढी सहकारी, दर्जनौ लघुवित्त र केही बैंकहरूलाई सेवा दिँदै आएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी डिजिटाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आवद्ध गर्न जोड दिनुपर्ने बताइन्। उनले बैकिङ सफ्टवेयरमा एकरूपता र विश्वसनीयता सिर्जना गर्नुपर्ने बताए।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे।

प्रकाशित: १० जेष्ठ २०७९ ०७:२३ मंगलबार

डिजिटल रूपान्तरण रणनीतिक साझेदारी मर्यादित र पारदर्शी सहकारी व्यवसाय