अर्थ

मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा

एउटै सिजनमा कञ्चनजंघा र लोहोत्से हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले हप्ता दिनपछि मकालु हिमाल चढ्ने बताएकी छन्। यही जेठ २ गते दुवै हिमालको सफल आरोहण गरेकी उनले नागरिकसँगको कुराकानीमा हाल बेस क्याम्पमै आराम गरिरहेकोमा हप्ता दिनपछि मकालु हिमाल चढ्न तयारी गरिहेको बताइन्।

गोरखा आरुघाटमा जन्मेकी श्रेष्ठ पेशाले फोटो पत्रकार हुन्। ०७५ सालमा मनासलु हिमालको सफल आरोहण गरी हिमाल यात्रा शुरु गरेकी श्रेष्ठको हिमाल यात्रा आजसम्म निरन्तर चलिरहेको छ। उनी अन्नपूर्ण र धवलागिरि हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही समेत हुन्।

यससँगै उनले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा सन् २०१८, अमादब्लम २०१९ र सन् २०२१ मा धौलागिरि र अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेकी छन्। हिमाल चढ्छु भनेर सानैदेखिको लक्ष्य वा सपना नभएको बताउँदै उनले पहिलो हिमालको सफल आरोहण पछिको खुसी, ऊर्जा र सबैको सहयोगले नै एकपछि अर्को हिमाल चढ्न प्रेरित भएको बताइन्।

पटक-पटक हिमाल चढ्दा जति लोभलाग्दो देखिने र आन्नद सुनिने गर्छ ठीक त्यसको विपरीत एकदमै गाह्रो हुने उनले बताइन्। उनले ठूलो लगानी, आँट, साहस, मेहनत र निरन्तरता भएन भने हिमाल चढ्न नसकिने बताइन्। हाल बेसक्याम्पमा रहेकी उनले भनिन् ‘सफलताले ऊर्जा दिनेरैछ, त्यही ऊर्जालाई निरन्तरता दिँदैछु, अब मकालु चढेर मात्र काठमाडौं फर्कन्छु।

‘नेपालमा सगरमाथा मात्र नभएर अन्य हिमालहरू पनि उत्तिकै सुन्दर, लोभलाग्दा र मूल्यवान छन्। ती सबै हिमालहरूको प्रवर्द्धन गर्नु उत्तिकै आवश्यक छ भन्ने मेरो बुझाइ हो’ श्रेष्ठले नागरिकलाई बताइन। उनी थप्छिन्–‘कति विदेशी महिला मात्र हिमाल चढिरहन्छन्, नेपाली महिलाहरू पनि हिमाल चढ्न उत्तिकै लालायित र सक्षम छन् भन्ने सन्देश दिनु थियो–मलाई। त्यसैका लागि म कोसिस गरिरहेको छु’।

प्रकाशित: ८ जेष्ठ २०७९ ०२:४० आइतबार

मकालु हिमाल आरोहणको तयारी अन्नपूर्ण र धवलागिरि हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही