अर्थ

उद्योग दशक घोषणा गर्न गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले स्वदेशी उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्नका लागि उद्योग दशक घोषणा गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले यस्तो धारणा राखेका हुन्। वि.स.२०७९देखि २०८९सम्मको दशकलाई राष्ट्रिय उत्पादन बढाउन उद्योग दशक घोषणा गर्न प्रधानमन्त्री समक्ष माग गरेको थापाले जानकारी दिए।

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेकाले उत्पादन बढाएर व्यापार घाटा कम गर्नुपर्ने थापाको धारणा थियो । उत्पादन बढाउनका लागि पूर्वाधारमा सघाउनु पर्ने थापाको तर्क छ। ‘प्रविधि भित्राएर प्रतिस्पर्धी क्षमताको विकास गर्नुपर्छ,’ थापाले भने, ‘त्यसका लागि हार्ड र सफ्ट पोलिसी आवश्यक छ।’

मेक इन नेपाल, मेड इन नेपाल जस्ता अभियानलाई साथ दिनुपर्ने उनले बताए। मुलुकको अर्थतन्त्रको बारेमा चिन्तित रहेको बताउँदै आगामि आवको बजेटबाट सुधार गर्ने मौका रहेको धारणा राखे । निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम भन्दा पनि दीर्घकालीन महत्व राख्ने बजेट ल्याउनुपर्ने थापाले बताए। ‘बजेटले व्यापार घाटा कम गर्ने र उत्पादन बढाउने विषयमा ध्यान दिनुपर्छ,’ थापाले भने।

नेपाल मान्छे बेच्ने र मालसामान किन्ने देश भएकोमा दुःख व्यक्त गरे। भान्सादेखि सबैमा परनिर्भर भएकोमा चिन्ता व्यक्त गरे । ‘हामीले बेलुका गएर भान्सामा हेर्‍यौं भने बारीको थोरै विदेशबाट आएको धेरै वस्तु प्रयोग गर्छौं,’ उनले भने, ‘हाम्रो कृषि प्रधान देशको अवस्था यस्तो छ।’

उत्पादन वृद्धि र स्वदेशमा रोजगारी सृजना गर्न राष्ट्रिय उद्योग सञ्चालन गर्ने योजना चाहिएको बताए। सरकारले उद्योगलाई संरक्षण गर्ने नीति लिनुपर्ने थापाको धारणा थियो। ‘राष्ट्रिय उत्पादन प्रवद्र्धन गर्नका लागि एउटा हार्ड पोलिसी र अर्को सफ्ट पोलिसी आवश्यक छ,’ उनले भने, ‘उत्पादन बढाउनका लागि पूर्वाधारमा सघाउनु पर्छ।’

उत्पादनका लागि केही क्षेत्र छान्नुपर्ने उनको धारणा थियो । धागो, कपडा उद्योग, फुटवेयर(जुत्ताचप्पल), निर्माण सामग्री, कृषि खाद्यान्न, वनपैदावार, जडिबुटी, औषधि, हस्तकाल लगायतका वस्तुलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

वैदेशिक लगानी, आन्तरिक लगानी बढाउने, जनशक्तिलाई प्रशिक्षित गर्ने, साना मझौलालाई प्रोत्साहित गर्ने काम गर्नुपर्ने बताए। ‘उत्पादन वृद्धि र निर्यातलाई प्रोत्साहित गर्न निस्चित अवधि भन्सार छुट दिनु आवश्यक छ,’ थापाले भने,‘ उद्योगले १० वर्षसम्म प्रतिस्पर्धात्मक क्षमता बढाउनपर्छ । त्यसपछि सरकारले छुट दिँदैन भनेर अहिलेनै घोषणा गरेर जान सक्छौं।’

जुत्ता, टेक्सटाइलमा सरकारले सहजीकरण गरे उत्पादन वृद्धि गर्न सक्ने अवस्था रहेको थापाले बताए। नेपालीले अहिले वर्षको करिव नौ करोड जोर जुत्ता उपभोग गरे पनि पाँच करोड जोर जुत्ता विदेशबाट आयात भै रहेको बताए। ‘चार करोड जोर जुत्ता नेपालमा उत्पादन भएको छ’ थापाले भने, ‘अझै साढे चार करोड जोर जुत्ता स्वदेशमै उत्पादन गर्न सक्ने सम्भावना छ।’ सरकारले चोरी पैठारी, न्यून मूल्यांकन हुन नदिए स्वदेशी जुत्ता तथा कपडा उद्योग फस्टाउने थापाले बताए।

तीन करोड नेपालीले वार्षिक करिव ६० करोड कपडा प्रयोग गर्ने भए पनि  तथ्यांकमा १० प्रतिशत कपडा स्वदेशमा उत्पादन र १० प्रतिशत मात्र भन्सार तिरेर आयात भएको देखिएको थापाको भनाई थियो। ‘८० प्रतिशतको कतै हिसाव देखिँदैन’ उनले भने, ‘कि अन्डर भ्यालुएसन भएर आएको छ की चोरी निकासी।’ सरकारले कडाई गर्ने हो भने स्वदेशी उद्योग फस्टाउने थापाले बताए।

व्यापार घाटा घटाउन अवसर र ठाउँ रहेको उनको धारणा थियो । लत्ताकपडा, औषधि, जुत्ता लगायतको उत्पादन बढाउन सकिने धारणा राखे। थापाले अर्थमन्त्रीलाई राजस्व जम्मा गर्ने भन्दा पनि उद्योगको विकास कसरी गर्न सकिन्छ भनेर सोचिदिन आग्रह गरे।

प्रकाशित: ६ जेष्ठ २०७९ १५:३६ शुक्रबार