अर्थ

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

 नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ। गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ।

गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। २७ वाणिज्य बैंकहरूमध्ये १९ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ।

वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ। त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ। औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरूसँग कुलनिक्षेप ४३ खर्ब ६९ अर्ब रूपैयाँ पुगेको छ भने कुलकर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात भने राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेको छ।

औसतमा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ। नेपाल अधिराज्यभर २ सय १३ शाखाहरू, १ सय ७० एटिएम मेसिनका साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बैंकले  जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०४:०० शुक्रबार