अर्थ

दुनाटपरी बेचेर मनग्य आम्दानी कञ्चनपुर

दुनाटपरी बचेर कृष्णपुर नगरपालिका– ६ बञ्जरियाका स्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छन्। घरको कामबाट फुर्सद पाएका बेला उनी दुना टपरी बनाउँछिन् ।

उनका अनुसार बनाइएका दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ। उनले भनिन्– ‘बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएको छु। यसबाट महिनामा १० हजारदेखि १५ हजार रूपैयाँ जति आम्दानी हुने गरेको छ।’

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउन आवश्यक पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ। उनले भनिन्– ‘पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु। लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नून, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउ छु।’ विद्यालयमा पढने बालबालिकाको खर्चसमेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ।

घरको अत्यावश्यक कार्यका लागिसमेत दुनाटपरी बेचेर आएको पैसाखर्च हुने गरेको उनले बताए। धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ। मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ। ‘पहिला एक दुनाटपरी तीन रूपैयाँमा बिक्री हुन्थ्यो। हाल मूल्य बढेर पाँच रूपैयाँमा बिक्री हुन्छ। जति बनाउन सक्यो त्यतिनै फायदा छ’ किसान चौधरीले भने।

दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ। सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ। दुनाटपरीसमेत विभिन्न प्रकारको हुने गरेको छ। जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन। देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन्।

‘बजारमा दुनाटपरीको माग धेरै छ’ स्यानीदेवीले भनिन्– ‘पुर्‍याउनै सकिदैन। जति बनाए पनि बजारमा बिक्री हुन्छ। यसलाई व्यावसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ ।’ उनले बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाउने कार्य गरिरहेकी छन्।  

यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पुर्‍याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०६:१३ बिहीबार