अर्थ

सुर्तीजन्य पदार्थको चोरी पैठारी बढ्यो

भारतबाट चुरोट चोरी पैठारी बढेको सूर्य नेपालले जनाएको छ। कम्पनीले भारतबाट अवैधानिक रूपमा सूर्य, खुकुरी, शिखर र पाइलट लगायतका नक्कली ब्राण्डका चुरोटहरू बजारमा छ्यापछ्याप्ती बढेको वताएको छ।

त्यस्तै, भारतबाहेक अन्य मुलुकहरूबाट पनि सुर्तीजन्य पदार्थहरू अवैधानिक रूपमा नेपाल भित्रिरहेको सूर्य नेपालका अनुगमन अधिकृत प्रेम अर्यालले नागरिकलाई बताए। उनले यसरी चोरी पैठारी गरिएका चुरोट सजिलै बजारमा उपलब्ध हुँदा वैधानिक रूपमा उत्पादन तथा बिक्री–वितरण गर्ने कम्पनीहरूलाई निकै घाटा पुगेको बताए। उनले भने– ‘यो अवस्थाको अन्त्य नभए वैधानिक कम्पनीहरूलाई त घाटा छँदैछ, राष्ट्रलाई पनि उत्तिकै घाटा छ ।’

अनुगमन अधिकृत अर्यालका अनुसार नेपालमा २ तरिकाले चुरोटको गैरकानुनी व्यापार हुँदै आएकोमा काठमाडौं, पोखरा लगायत ठूला शहरमा अन्तर्राष्ट्रिय ब्रान्डको र सीमावर्ती क्षेत्रमा भारतबाट नेपाली ब्रान्डकै नक्कली चुरोट पैठारी भएको छ ।

बजारमा नक्कली चुरोटको बिक्री बढेको गुनासो व्यापारीहरूको छ। बजारमा सहजै अवैधानिक चुरोटको बिक्री वितरण बढेपछि व्यवसायीहरूले प्रहरी निकायमा यसबारे बारम्बार जानकारी गराउँदै आएको बताएको छ। सम्बन्धित निकायको अनुगमन र कारबाही फितलो हुँदा वैधानिक रूपमा उत्पादन तथा बिक्रीवितरण गर्ने कम्पनीहरूलाई निकै मर्का परेको गुनासो कम्पनीको छ।

हाल चुरोटमा कुल बिक्री मूल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्दै आएको छ। चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, मूल्य अभिवृद्धिकर लगायतका कर लाग्छ।

सन् १९८६ देखि सञ्चालनमा आएको सूर्य नेपाल प्रालिमा भारतीय कम्पनी आईटीसी लिमिटेडको सबैभन्दा धेरै ५९ प्रतिशत सेयर छ भने ३९ प्रतिशत सेयर नेपाली कम्पनी तथा व्यक्तिहरूको छ। साथै २ प्रतिशत सेयर ब्रिटिस अमेरिकन टोबाको कम्पनी लिमिटेडको छ ।

प्रकाशित: २९ वैशाख २०७९ ०५:५२ बिहीबार